गढवा - शहरी विकासमन्त्री मेटमणि चौधरीले आफ्ना बुबा र आमासँग आशीर्वाद लिँदै मतदाताहरुलाई धन्यावाद दिएका छन् ।
मन्त्री पदको शपथ लिएर पदभार ग्रहण गरेपछि गृहजिल्ला दाङको देउखुरीस्थित गढवा बजारमा रहेको घरमा बिहीबार साँझ आइपुगेका चौधरीले बुबा र आमासँग आशीर्वाद लिएका हुन् । उनले परिवारजन र छरछिमेकसँग पनि आशीर्वाद लिएका छन् ।
आफ्नै निवासमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले दाङको क्षेत्र नं. १ का मतदाताले आफूलाई मतदान गरेर विजयी बनाएर पठाएकै कारण मन्त्री बन्ने अवसर पाएको बताए । उनले आफूले पाएको जिम्मेवारीलाई इमान्दारिताका साथ पालना गर्ने प्रतिवद्धता जनाए ।
आफ्नो क्षेत्रको विकासमा आफूले पहलहरु गरेर विकासका कार्यक्रम र योजना ल्याएको समेत उनले बताए । मन्त्री बनेपछि थप कार्यक्रम र योजना ल्याउने बताएका छन् । उनले आफू मुलुकै मन्त्री भएका कारण अरु जिल्लामा पनि विकास र योजनाका कार्यक्रमहरु हेर्नुपर्ने दायित्व आएको बताए ।
आगामी निर्वाचनमा पनि आफू दाङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने संकेत गरेका मन्त्री चौधरीले मतदाताहरुले विजयी बनाउनेमा अपेक्षा लिएको बताए ।
यसअघि, मन्त्री चौधरीले सतबरियाको बनघुस्रीमा पार्टीका कार्यकर्ताहरुसँग भेटघाट गरेका थिए । छोटो भेटघाटमा मन्त्री चौधरीले गाउँ, टोलमा भएका समस्याबारे आफ्ना मतदाताहरुसँग जानकारी लिएका थिए ।
उनले जनताको मागलाई सक्दो प्रयास गरेर पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्री चौधरीले आफ्नो निजी सचिवालयमार्फत योजना, कार्यक्रम र माग तथा समस्याहरु टिपाएर सहयोग गर्न आग्रह गरेका छन् ।
आफ्नो मोबाइल उठेको भनेर गुनासा आएका विषयमा मन्त्री चौधरीले भने, ‘म कहिले संसदमा हुन्छु । कहिले समितिहरुको बैठकमा हुन्छु । त्यो बेला मोबाइल नउठेको हुन सक्छ । त्यसलाई अन्यथा नलिइदिनु होला ।’
मन्त्री चौधरीले शुक्रबार घोराहीमा पार्टीका नेता कार्यकर्तासँग भेटघाट गर्नुका साथै पार्टी कार्यालयको कार्यक्रममा सहभागी हुने कार्यसूची छ । दाङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र कार्यालय प्रमुखहरुसँग पनि भेट गर्ने कार्यक्रम छ ।
त्यसपछि देउखुरीका कार्यक्रमहरुमा शनिबार सहभागी भएर काठमाडौं जाने कार्यक्रम छ । गढवामा मन्त्री चौधरीको सामान्य कच्ची घर रहेको छ । सो घरमा बुबा र आमा तथा परिवारका अन्य सदस्य रहने गरेका छन् ।
थारु संस्कृतिअनुसार घरमा स्वागतका लागि आएका पाहुना, शुभेच्छुक, मतदाताहरुलाई मन्त्री चौधरीले खाना खुवाएर पठाएका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।