लमही - सहरी विकासमन्त्री मेटमणि चौधरीले आफूलाई सांसदमा जिताएर मन्त्री बनाउने मतदाताहरूको शिर झक्ने गरेर कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाएका छन् ।
शनिबार दाङको क्षेत्र नं. १ मा आयोजित स्वागत र बधाई लगायतका विभिन्न कार्यक्रमहरूमा चौधरीले आफ्ना मतदाताहरूकै कारण मन्त्री बन्ने अवसर मिलेको बताए ।
उनले भने, ‘दाङ क्षेत्र नं. १ का मतदाताहरूको शिर निहुरिने गरेर कुनै पनि काम गर्नेछैन । जति समय मन्त्री हुन्छ राम्रो काम गरेर देशभरिका जनताको मन जित्ने प्रयास गर्नेछु ।’ मन्त्री भनेको पद क्षणिक र अस्थायी पद रहेको बताएका चौधरीले आउँदै गरेको निर्वाचनमा आफूलाई विजयी बनाउन आग्रह पनि गरेका छन् । मन्त्री चौधरीले आगामी निर्वाचनमा उम्मेदवार बन्ने बताए ।
भालुबाङको पुल्चोकमा राप्ती उद्योग वणिज्य संघले आयोजना गरेको कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री चौधरीले संविधानको प्रावधानअनुसार तोकिएको समयमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने बताए ।
उनले निर्वाचन भएको मितिलाई मान्ने कि सांसदले शपथ लिएको समयलाई मानेर निर्वाचनमा जानेभन्ने विषयमा परामर्शहरू भइरहेको बताए । राप्ती गाउँपालिकालाई लुम्बिनी प्रदेशको राजधानी बनाएको विषयमा मन्त्री चौधरीले राजधानीको विकासका लागि सबै सहयोग गर्ने बताए । उनले अबका बैठकहरू लुम्बिनीको राजधानी राप्ती गाउँपालिकामा नै बस्ने उनले बताएका छन् ।
गढवा उद्योग वाणिज्य संघको हलमा नेकपा (एकीकृत समाजवादी)ले आयोजना गरेको शुभकामना तथा बधाई कार्यक्रममा मन्त्री चौधरीले गाउँ र जनताको विकासको काममा कसैले पनि अवरोध गर्न नहुने बताए । उनले खरको छाना रहेका घरमा जस्ता पाता लगाउने आफ्नो अभियानलाई केही व्यक्तिले आलोचना गरेर असफल बनाउने प्रयास गरेको भन्दै चिन्ता जनाए ।
बगरापुरमा थारु संग्राहलय बनाउनेबारमा सहयोग गर्ने मन्त्री चौधरीले आश्वासन दिएका छन् । बगरापुरमा आयोजित कार्यक्रममा उनले बगरापुरको विकासमा आफू सधैँ सचेत रहेको बताए । मन्त्री चौधरीलाई आफ्नो निर्वाचन क्षेत्रका विभिन्न संघ संस्थालगायतले बधाई दिएका छन् । चौधरीले पनि आफूलाई विजयी बनाएर सांसद बनाइ पठाएकै कारण मन्त्री बन्न पाएको भन्दै मतदाताहरूलाई धन्यावाद दिएका छन् ।
मन्त्री चौधरी बिहीबार, शुक्रबार, शनिबार र आइतबार गरी चार दिन आफ्नो गृहजिल्लामा रहेर भेटघाट गर्नुका साथै मतदाताहरूलाई धन्यावाद दिएका छन् ।
सबै मतदाताको घरघरमा पुग्न नसके पनि चौधरीले मन्त्री भएको पहिलो हप्ता नै निर्वाचन क्षेत्र र गृहजिल्ला दाङ आएर मतदाताप्रतिको निकटताका बारेमा सन्देश दिएका छन् । मन्त्री चौधरी आइतबार देउखुरीका विभिन्न स्थानमा हुने कार्यक्रममा भाग लिएर आइतबार साँझ साढे ६ बजेको उडानबाट काठमाडौं जाने कार्यक्रम छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।