काठमान्डौ- दुधौली नगरपालिका–८, बडाहाकी २३ वर्षीया चेतना प्याकुरेल नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सिन्धुली क्षेत्र नम्बर १ बाट महिला युवा क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी छन्। अध्ययन, सामाजिक सक्रियता र युवाको नेतृत्व विकासलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएकी चेतनाले कम उमेरमै पार्टीको महाधिवेशन प्रतिनिधिको जिम्मेवारी पाएकी हुन्।
चेतनाको परिवारमा नेपाली कांग्रेसको राजनीतिमा प्रत्यक्ष रूपमा जोडिएको कोही थिएन। तर आफ्नै रुचि, अध्ययन र सामाजिक गतिविधिमार्फत उनी राजनीतितर्फ आकर्षित भएकी हुन्। बीपी कोइरालाका विचार, प्रदीप गिरीका राजनीतिक बहस तथा युवाको नेतृत्वसँग सम्बन्धित विषयको अध्ययनले उनलाई राजनीतिक यात्रामा अघि बढ्न प्रेरित गरेको हो।
“परिवारमा कोही पनि कांग्रेसको राजनीतिमा प्रत्यक्ष संलग्न हुनुहुन्न। म परिवारबाट एक्लै राजनीतिक यात्रामा आएँ,” चेतना भन्छिन्, “बीपीका विचार र प्रदीप गिरीको ‘What is Hope?’ लगायतका विषय अध्ययन गर्दै जाँदा समाजको विकास कसरी हुन्छ र युवाको नेतृत्व कसरी स्थापित गर्न सकिन्छ भन्ने प्रश्नले मलाई राजनीतितिर तान्यो।”
हाल Bac.AG अध्ययनरत चेतना सानै उमेरदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी छन्। उनी स्थानीय नमुना युवा सांसद अभ्यासकी प्रशिक्षकसमेत हुन् भने नेपाल विद्यार्थी संघको राजनीतिमा पनि सक्रिय रहँदै आएकी छन्।
चेतनाका लागि राजनीति केवल पद प्राप्त गर्ने माध्यम होइन। आफ्नै ठाउँका युवाको पहिचान स्थापित गर्ने, उनीहरूलाई नेतृत्वमा ल्याउने र समाज परिवर्तनको प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यले आफू राजनीतिमा आएको उनको भनाइ छ।
२३ वर्षकै उमेरमा कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि उनले युवाहरूलाई राजनीतिमा सक्रिय सहभागिताका लागि आह्वान गरेकी छन्। उनका लागि महाधिवेशन प्रतिनिधिको जिम्मेवारी व्यक्तिगत उपलब्धिभन्दा पनि आफ्नो पुस्ताको आवाज पार्टीको नीति र बहसमा पुर्याउने अवसर हो।
“युवाहरू राजनीतिमा आउनुपर्छ भन्ने सन्देश दिन पनि म महाधिवेशन प्रतिनिधि बनेकी हुँ,” उनले भनिन्।
चेतनाको बुझाइमा युवाहरूले राजनीतिलाई बाहिरबाट हेरेर मात्र परिवर्तन सम्भव हुँदैन। नीति निर्माण, निर्णय प्रक्रिया र नेतृत्वमा युवाको प्रत्यक्ष सहभागिता आवश्यक हुन्छ। त्यसका लागि युवाहरू आफैं राजनीतिमा सहभागी भएर आफ्नो भूमिका र नेतृत्व स्थापित गर्नुपर्ने उनको धारणा छ।
अध्ययनसँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएकी चेतनाको २३ वर्षकै उमेरमा कांग्रेस महाधिवेशन प्रतिनिधिसम्मको यात्रा पछिल्लो पुस्ताको राजनीतिक सहभागिताको एउटा उदाहरण बनेको छ। महिला युवा क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि उनले अब पार्टीको महाधिवेशनमा युवा पुस्ताका सवाल, अपेक्षा र नेतृत्वको विषयलाई थप प्रभावकारी रूपमा उठाउने बताएकी छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।