काठमाडौं - संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले नेपालले एक समन्वयकारी नेता गुमाएको छ ।
नेम्वाङको मंगलबार बिहान हृदयाघातका कारण निवासमै निधन भएको थियो । नेम्वाङको निधनको खबर पाएपछि राति नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीसहितका नेता तथा कार्यकर्ताहरु शिक्षण अस्पताल पुगेका थिए ।
२०६४ र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष रहेका नेम्वाङ इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद थिए । नेम्वाङको निधनको खबरपछि चीन भ्रमणमा रहेका एमाले महासचिव शंकर पोखरेल आफ्नो सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्कन लागेका छन् ।
उनी सिनिङ र छन्तु हुँदै नेपाल आइपुग्ने कार्यक्रम छ । एमालेले सबै औपचारिक कार्यक्रम स्थगित गरेको छ । आज सुदूरपश्चिममा हुन लागेको समाजवादी मोर्चाको सन्देश सभा स्थगित भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वसभामुख अग्निप्रसाद सापकोटालगायत सबै नेता नेम्वाङको निधनबाट स्तब्ध छन् ।
समकालीन नेता भएकाले पनि नेम्वाङको निधनले नेपालको राजनीतिमा ठूलो खाडल बनाएको छ । सरल र शालिन स्वभावका नेम्वाङ सहमति र सहकार्यका पर्याय थिए । कानुनका ज्ञातासमेत भएकाले नेम्वाङको अभाव सधैं खड्किने देखिन्छ ।
संविधानसभाबाट संविधान लेख्ने बेला नेम्वाङले निभाएको भूमिकाको अहिले पनि चर्चा हुने गर्छ । जोकोहीले शान्त स्वभावका नेम्वाङको मध्यस्थकर्ता भूमिकाको सरहाना गर्छन् ।
उनी नेपाली कांग्रेस र एमालेबीच समन्वय गर्नुपर्ने देख्थे । विचार नमिले पनि उनले कहिल्यै कांग्रेसको चर्को विरोध गरेनन् । देशले पाएको लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न कांग्रेस र एमाले मिलेर जाँदा उत्तम हुने उनको भनाइ हुन्थ्यो ।
आफूलाई लागेको कुरा स्पष्ट राख्ने स्वभाव भएका नेम्वाङले केपी ओलीले दुई दुईपटक संसद् विघटन गर्दा त्यसको विरोध नगरेकोमा भने उनी आलोचित भएका थिए ।
तर पछिल्लो समय एमालेले विना काम संसद् अवरोध गरेकोमा असन्तुष्टि जनाएका थिए । त्यसैले अहिले के कांग्रेस, के कम्युनिस्ट, के राजावादी सबै नेम्वाङको निधनको खबरले स्तब्ध हुन पुगेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।