बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

अरुलाई परमादेश दिँदा उछितो काढ्ने एमालेमा आफ्नोले परमादेश पाउँदा हर्षबढाइँ

अरुलाई परमादेश दिँदा उछितो काढ्ने एमालेमा आफ्नोले परमादेश पाउँदा हर्षबढाइँ

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २२ २०८०

  • 4.5K
    SHARES

  • अरुलाई परमादेश दिँदा उछितो काढ्ने एमालेमा आफ्नोले परमादेश पाउँदा हर्षबढाइँ

    काठमाडौं - २०७८ मा प्रतिनिधिसभा पुनःस्थापनासँगै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले दिएको परमादेशविरुद्ध सडकमा ओर्लिएको एमालेलाई त्यस्तै बाटोबाट कोशी प्रदेशमा सत्ता हात लागेको छ ।

    यसअघि देउवालाई अदालतले यसैगरी मिति नै तोकेर प्रधानमन्त्री नियुक्त गर्न आदेश दिँदा एमालेका नेता–कार्यकर्ता त्यसविरुद्ध सडकमा ओर्लिएका थिए ।

    एमाले नेताहरुले देउवालाई ‘परमादेशी प्रधानमन्त्री’ को संज्ञा दिँदै सदनदेखि सरकारसम्म उछित्तो काढेका थिए । तर, एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न अदालतले दिएको आदेशको भने एमाले पंक्तिले सामाजिक सञ्जालमा स्वागत गरेको छ ।

    सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता कार्कीलाई नियुक्त गर्न बिहीबार परमादेश जारी गरेको हो ।

    मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्ध परेको रिटउपर सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले ४८ घण्टाभित्र ठूलो दलको नेताको हैसियतमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखका नाममा परमादेश दिएको हो ।

    तीनैजना न्यायाधीश एमालेका क्याडर हुन् । मल्ल त एमालेबाट संविधानसभा सदस्य पनि हुन् । उनी प्रधानन्यायाधीशको लाइनमा छिन् ।

    तत्कालीन नेकपाकालमा प्रधानमन्त्री केपी ओली सर्वोच्च अदालतको आदेशबाटै पदच्यूत भएका थिए । र, सर्वोच्चको परमादेशबाट कांग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका थिए ।

    देउवा डेढ वर्षसम्म प्रधानमन्त्रीमा रहँदा एमाले अध्यक्ष केपी ओलीदेखि सो पार्टीका सबैले परमादेशी प्रधानमन्त्री भन्दै उछितो काढेका थिए ।

    अब कोशी प्रदेशमा परमादेशबाटै मुख्यमन्त्री बन्न लागेका कार्कीका कारण एमाले नेताहरूलाई पहिले उछितो काढेकोमा नैतिक संकट लाग्ने देखिएको छ ।

    अदालतले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न भनेको हो ।

    त्यसरी नियुक्त मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । प्रदेशसभाको अंकगणित कार्की अनुकूल देखिँदैन । ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ४७ सांसदको समर्थन चाहिन्छ । एमालेसँग उपसभामुखसहित ४० सांसद छन् ।

    कुनै पनि गठबन्धनमा प्रष्ट नखुलेको राप्रपाको ६ भोट कार्कीलाई थपिँदा पनि बहुमत पुग्दैन । हालको सत्ता गठबन्धनसँग ४७ सांसद छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १९ २०८००५:५३:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend