काठमाडौं - एमाले नेतृत्वमा रहेको कोसी सरकार विपक्षी दलहरूलाई पेलेरै अघि बढ्ने भएको छ ।
माओवादीले समर्थन फिर्ता लिएर सरकार छाडेर बहुमत गुमाएको हिक्मत कार्की नेतृत्वको सरकार अध्यादेशमार्फत बजेट ल्याउन जुटेको छ । कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाले भने अध्यादेशबाट बजेट नल्याउन आग्रह गर्दै आएका छन् ।
त्यसका लागि कोसी प्रदेशसभा सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले आउँदो आर्थिक वर्ष २०८०÷८१ को बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेश प्रमुख खापुङलाई प्रदेशसभामा प्रस्तुत गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।
अल्पमतमा परेको एमालेका मुख्यमन्त्री कार्कीले अध्यादेशबाट बजेट ल्याउन बुधबार नै बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने संविधानको धारा १८४ को उपधार (२) को व्यवस्थाअनुसार प्रदेशसभा बैठकको कार्यसूची तय गरिएको छ । कांग्रेस र माओवादीले भने अल्पमतमा परिसकेको प्रदेश सरकारले संवैधानिक व्यवस्थाविपरीत अध्यादेशमार्फत बजेट ल्याउन नमिल्ने भन्दै आपत्ति जनाएका छन् ।
मुख्यमन्त्री कार्कीले बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत असार १ गते बजेट ल्याए पनि असार १५ गतेसम्ममै प्रदेशसभाबाट अस्वीकृत हुने अवस्था छ । उनले असार १५ गतेभित्र प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेर विश्वासको मतका लागि प्रस्ताव राख्नै पर्ने बाध्यात्मक अवस्था छ ।
संविधानको धारा २०२ को उपधार (२) को (क) मा अध्यादेश जारी भएपछि बसेको प्रदेशसभाको बैठकमा पेस गरिने र प्रदेशसभाले स्वीकार नगरेमा स्वतः निष्क्रिय हुने व्यवस्था छ । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा बहुमत सिद्ध गर्न नसकेको अवस्थामा अध्यादेशमार्फत ल्याइएको बजेट अस्वीकृत हुन्छ ।
र, कार्की नेतृत्वको सरकार स्वतः ढल्ने छ । ९३ सदस्यीय प्रदेशसभामा एमाले ४० र राप्रपा ६ गरी ४६ प्रदेश सांसदको समर्थन मुख्यमन्त्री कार्कीलाई छ । कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक गरी ४७ सांसद विपक्षमा छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।