काठमाडौं - सात प्रदेशमध्ये कोसीमा रहेको एमाले नेतृत्वको सरकार पनि संकटमा परेको छ ।
सत्तारुढ माओवादीले समर्थन फिर्ता लिँदै आफ्ना दुई मन्त्रीलाई बोलाएपछि कोसीमा नयाँ सरकार बन्छ कि मध्यावधि निर्वाचन होला भन्ने चासो बढेको छ ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ । एमालेका ४०, कांग्रेस २९, माओवादी १२, राप्रपाका ६, एकीकृत समाजवादी चार र जसपाको एक सिट छ ।
अहिले सरकारमा रहेको एमाले र राप्रपाको ४६ मत छ । सभामुखबाहेक विपक्षीतिर ४६ मत छ । माओवादीबाट सभामुख निर्वाचित बाबुराम गौतमले निर्णायक अवस्थाबाहेक मत हाल्न पाउँदैनन् । त्यसैले दुवैतिर बराबर मत हुन्छ ।
यदि विश्वासको मत लिएको अवस्थामा ४६–४६ अर्थात् बराबरी मत भएमा मात्र सभामुखले हाल्न पाउने हो । त्यस्तो जोखिम मोलेर नयाँ सरकार बन्ला भन्ने अझै धेरैले विश्वास गरेका छैनन् ।
यदि राप्रपा एमालेसँगको मोर्चामा कायम रहिरहेमा नयाँ सरकार बनाउन अंकगणित निकै कमजोर छ । त्यसैले अहिले सभामुख गौतमले राजीनामा दिएमा मात्र नयाँ सरकार बन्ने अवस्था छ । सभामुखले राजीनामा दिए कांग्रेस माओवादी गठबन्धनसँग ४७ मत हुन्छ ।
जुन सरकार बनाउन पर्याप्त हुन्छ । सरकार बनेपछि फेरि सभामुखको निर्वाचन हुने सहमति बनेको छ । तर माओवादीले आफले मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ ।
कोसीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी सबैले सरकारको नेतृत्वको दाबी गरेका छन् । जसपा निर्णायक भूमिकामा छ । राप्रपाले आफूलाई मुख्यमन्त्री दिएमा गठबन्धनमा सामेल हुने जनाउ दिएको छ । तर कांग्रेस माओवादी मानेका छैनन् ।
मुख्यमन्त्री हिक्मत कार्की अल्पमतमा परिसकेका छन् । त्यसैले उनले विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ । एमाले ठूलो पार्टी भएकाले अल्पमतको सरकार बनाउने विकल्प उसैलाई छ ।
तर अल्पमतको सरकारले बजेट ल्याउन मिल्दैन । ल्याए पनि पास हुने सम्भावना छैन । त्यसैले मध्यावधिको चर्चा सुरु भएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कोसी प्रदेशमा नयाँ सरकार बन्ने र मध्यावधिको सम्भावना नरहेको टिप्पणी गरेका छन् । बुधबार संसदमा भवनमा सञ्चारकर्मीले सोधेको प्रश्नमा यादवले सहज रुपमा नयाँ सरकार बन्ने दाबी गरे ।
‘प्रदेश एक (कोसी) मा नयाँ सरकार बन्छ । मध्यावधिमा जाने अवस्था अउँदैन । त्यसखालको वातावरण जसपाले बन्न दिँदैन,’ उनले भने । तर कसरी सरकार बन्छ भन्ने उनले बताउन सकेनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।