काठमाडौं - सन् १९६२ मा गरिएको सीमांकनको सम्झौता र सन् १९६३ मा गाडिएका पिल्लरसहित प्रमाण र नक्सा हेर्दा चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्दै सरकारले अध्ययन टोली बनाएको छ ।
हुम्लाका प्रदेश सांसद जीवनबहादुर शाहीले यो तथ्य सार्वजनिक गरेपछि नेपालको राजनीति नै तरंगित भएको छ । एमाले, माओवादी केन्द्रका नेताहरूले चीनले नेपाली भूमि अतिक्रमण नगरेको दाबी गर्दै आएका छन् । तर, नेपाली कांग्रेसले भने नेपालको भूमि मिचिएको हुन सक्ने भन्दै अध्ययन गर्न समिति गठन गरेको हो ।
सरकारले नेपालको सीमा चीनले मिचेको भन्दै सीमास्तभ अध्ययन गर्न गएको टोली हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चामा पुगेको छ । शनिबार हुम्ला सदरमुकाम पुगेको टोली सोमबार लाप्चातर्फ गएको हो ।
नेपाल–चीन सीमा विवादका विषयमा अध्ययन गर्न जयनारायण आचार्यको नेतृत्वमा उमेशराज जोशी, किशोरकुमार श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डंगोल, दयानन्द जोशी र कपिल कटवाल रहेको नेपाल–चीन सीमा विवाद अध्यायन टोली गठन गरिएको थियो ।
लाप्चाबाट पैदल हिँडेर टोलीले पाँच हजार मिटर अग्लो स्थानमा रहेका सीमा स्तम्भहरूको स्थलगत अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।
चीनले हुम्लाको नाम्खा गाउँपालिकाको लाप्चासँगै रहेको लोलुङ जोङमा भौतिक संरचना बनाएको र ती संरचना नेपाली भूमिको रहेको भन्दै नेपाल सरकारले सीमा अध्ययन टोली गठन गरेको हो ।
लाप्चामै चीनले एकतर्फी रुपमा १२ नम्बर पिलर पुनर्निर्माण गरेको र टोलीले सम्भव भएसम्म हुम्ला खण्डमा पर्ने १५ वटै सीमा स्तम्भहरु पुग्ने जनाएको छ ।हुम्लाको नाम्खा गाउँपालिका– ६ को टाकुलेमा रहेको ११ नम्बर र लाप्चा क्षेत्रमा सीमास्तम्भ नम्बर १२ पर्छन् ।
सीमास्तम्भ नम्बर ५ (१) र (२), ६ (१) र (२), ७ (१) र (२), ८ (१) र (२), ९ (१) र (२), नाम्खा– ५ को हिल्सा र किट क्षेत्रमा पर्छन् । तर, नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले भने चीनले नेपालको भूमि नमिचेको दाबी गर्दै आएका छन् ।
आफ्नो देशको सीमा मिचिँदा पनि गाउँपालिका अध्यक्ष तामाङको अभिव्यक्तिलाई लिएर आलोचना भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।