काठमाडौं - एमाले विवाद मिलाउन कार्यदलको शनिबार सम्पन्न सात घन्टा लामो बैठकपछि बाहिरिने क्रममा नेता सुवासचन्द्र नेम्वाङ र गोकर्ण विष्टले आइतबार बिहान ८ बजे खुसीको खबर आउने प्रतिक्रिया दिएका थिए ।
दुवै नेताले समय तोकेरै एकता हुने दाबी गरेपछि सामाजिक सञ्जाललगायत पार्टी पंक्तिमै पनि सुखद सन्देश प्रवाह भएको थियो । तर, आइतबार बिहानको साढे ९ बजिसक्दा पनि एमाले नेताहरूको अत्तोपत्तो छैन ।
बिहानैदेखि केपी ओली पक्षका कार्यदलका नेताहरू माधव पक्षका कार्यदलका सदस्यहरूको बाटो कुरिरहेका छन् । जसकारण अहिलेसम्म कार्यदलको बैठक बस्न सकेको छैन । शनिबारको कार्यदल बैठकमा एमाले अध्यक्ष केपी ओली ०७५ जेठ २ अगाडि फर्किन जारी भएको खबर फैलिएको थियो ।
कतिसम्म भने सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे केही नबोल्ने सहमति पनि भएको थियो । ओली पक्षका नेताहरु ७ बजे नै सिंहदरबार पुगेर नेपाल समूहलाई कुरिरहेको एक नेताले बताए।
हस्ताक्षर गर्ने सहमति भएकोले समयमै सिंहदरबार पुगेको उनले दाबी गरे। तर, कार्यदलकै बैठकको टुंगो नलागेपछि एकता घोषणा लम्बिने भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।