काठमाडौं - नेपालमा दलहरू खुल्ने अनि विभाजन हुने पुरानै रोग हो । अहिलेसम्म सबैभन्दा धेरै कम्युनिस्ट पार्टी विभाजन भएका छन् । त्यसपछि मधेस केन्द्रित दल विभाजन भएको इतिहास छ ।
धेरैपटक विभाजन हुनेमा पूर्वपञ्चहरूको पार्टी राप्रपा पनि पर्छ । २०४७ सालमा स्थापना भएको राप्रपा अहिलेसम्म झन्डै आधा दर्जनपटक विभाजन हुने र जोडिने क्रम जारी छ । यसपटकको निर्वाचनमा सफलता पाउनेमा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा अगाडि छन् ।
त्यसपछि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पर्छन् । नागरिक उन्मुक्ति र जनमत पार्टीमा अहिले खासै विवाद नदेखिए पनि राप्रपा, रास्वपा र जसपामा विवादका छिटा देखिन थालेका छन् । सरकारमा जाने र नजाने पक्षबीच विवाद बढ्दा दलहरू विभाजन नै हुनसक्ने खतरा बढेको छ ।
यी पार्टीमा सरकारमा सहभागी हुने वा नहुने भन्ने दुई पक्षीय मत छ । रास्वपाले सरकारमा सहभागी हुने या नहुने भन्ने सन्दर्भमा आधिकारिक निर्णय त गरिसकेको छैन । तर, सभापति रवि लामिछानेले सहभागी हुने इच्छा जाहेर गरेका छन् ।
यसअघि नै आफ्नो पार्टी सरकारमा सहभागी हुनसक्ने बताएका थिए । लामिछानेसहित रास्वपाका केही सांसद वर्तमान सत्ता गठबन्धनको सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहँदै आएका छन् । नागरिकता समस्याले अप्ठ्यारोमा पर्ने बुझिसकेका अध्यक्ष लामिछाने सरकारमा सहभागी भएर सुरक्षित हुन खोजिरहेका छन् ।
लामिछाने सरकारमा सहभागी हुन खोजे पनि अन्य सांसद भने अहिलेको जनमत सरकारमा जाने नभएकाले सरकार बाहिरै बसेर जनताको काम गर्नुपर्ने पक्षमा छन् । प्रवक्ता मुकुल ढकाल, डीपी अर्याल, गणेश कार्कीसहितका नेता सरकारमा जान नहुने पक्षमा छन् ।
नयाँ सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयले राप्रपामा पनि दुई धार देखिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन पार्टीले पाएको जनमत सरकारमा जाने मत नरहेको भन्दै आएका छन् तर अधिकांश सांसद भने सरकारमा जाने मन्त्री बन्ने पक्षमा रहेका छन् ।
निरन्तर सत्तामा रहँदै आएका दीपक बोहरा, लामो समयको प्रयासपछि संसद पुगेका विक्रम पाण्डे र ध्रुवबहादुर प्रधानहरू भने सरकारमा सहभागी भएर मन्त्री भइहाल्ने पक्षमा छन् । उपेन्द्र यादव नेतृत्वको जसपामा कुन गठबन्धनको सरकारमा सहभागी हुने भन्ने सन्दर्भमा विवाद देखिएको छ ।
निर्वाचनमा एमालेले धोका दिएपछि अध्यक्ष यादवले सार्वजनिक रुपमा एमालेसँगको सम्बन्ध सकिएको घोषणा गरेका थिए । तर, संघीय परिषद अध्यक्ष अशोक राईले भने अध्यक्षको धारणा पार्टीको धारणा नरहेको भन्दै खण्डन गरेका थिए ।
यादव र राईको धारणा जसपाभित्रको पछिल्लो लाइनको धारणा हो । यादव वर्तमान सत्ता गठबन्धनसँगै सहकार्य गर्न चाहन्छन् भने राई एमालेसँग नजिक हुँदै गएका छन् । एमालेले राईलाई आफैंसँग राखेर प्रदेश १ मा सरकार बनाउने रणनीति अख्तियार गरेको छ ।
सरकारमा सहभागी हुने सन्दर्भमा यादव समूह वर्तमान सत्ता गठबन्धनले बनाउने सरकारमा सहभागी हुनुपर्ने पक्षमा छ भने राई समूह एमालेसँग मिल्नुपर्ने पक्षमा रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।