काठमाडौं– निर्वाचनको अन्तिम परिणाम घोषणासँगै नयाँ सरकार गठन र संसदको अधिवेशन आह्वानको बाटो खुलेको छ । निर्वाचन आयोगले विहिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचनको अन्तिम परिणाम सहितको निर्वाचन प्रतिवेदन बुझाएको थियो।
संविधानको धारा ७६ (८) मा ‘प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्रीको पद रिक्त भएको मितिले ३५ दिनभित्र प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई बाटो खुलेको छ ।
संविधानको धारा ९३ मा ‘निर्वाचनको अन्तिम परिणाम’ घोषणा भएको ३० दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । २८ मंसिरमा निर्वाचन आयोगले पत्रकार सम्मेलन नै गरेर निर्वाचन परिणम घोषणा गरेकाले ढिलोमा २७ पुसभित्र संघीय संसदको अधिवेशन डाक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
राष्ट्रपति कार्यालयका प्रेस विज्ञ ढकाल अब राष्ट्रपतिले नयाँ जनादेश अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुसँग औपचारिक–अनौपचारिक रुपमा छलफल थाल्ने र उनीहरुको सुझाव अनुसार सहजीकरण गर्ने बताए ।
सरकार गठनका लागि सांसदको शपथ लिन अनिवार्य नभएको, यसअघि पनि पहिले सरकार गठन गरेर मात्रै प्रतिनिधिसभाको अधिवेशन डाकिएको र संसदीय प्रणाली भएका कतिपय मुलुकमा समेत यस्तै अभ्यास भएको भन्दै राष्ट्रपति कार्यालयले यसपटक पनि सरकार गठनको विषयलाई नै प्राथमिकता हुने संकेत गरेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।