सिन्धुपाल्चोक - पाँच दलीय गठबन्धनको निर्देशन र सहमतिविपरीत नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल एमालेसँग जिल्लामा तालमेल गर्न खोजेको भन्दै गठबन्धनमा आबद्ध दुई दलले केन्द्रमा उजुरी हालेका छन् ।
पाँचदलीय संयन्त्रको अध्यक्षको हैसियतमा कांग्रेसले गठबन्धन बैठकसमेत नबोलाएको उल्लेख गर्दै एकीकृत समाजवादी र माओवादी केन्द्रले पाँचदलीय संयन्त्रको संयोजकलाई पत्र लेखेर शीर्ष नेतृत्वमार्फत एमालेसँगको गठबन्धन रोक्न आग्रहसमेत गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटा र कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको जुँगाको लडाइँका कारण पनि सिन्धुपाल्चोकमा पाँचदलीय गठबन्धन हुन नसकेको धेरैको बुझाइ छ ।
एकीकृत समाजवादीका अध्यक्ष नवराज पौडेल र माओवादी केन्द्रका संयोजक गोविन्द पराजुलीले पछिल्ला दिनमा संयन्त्रको बैठक संयोजनको जिम्मेवारी प्राप्त दल नेपाली कांग्रेसका तर्फबाट आह्वान नगरेको, बैठक बोलाइएका दिनमा पनि मुख्य निर्णायक भूमिकामा रहनु हुने नेता तथा केन्द्रीय सदस्यहरुको अनुपस्थितिका कारण वातावरण नबने अवस्था सिर्जना भएको उल्लेख गर्दै उजुरी हालेका हुन् ।
‘त्यसभन्दा पनि गम्भीर विषय त हाल गठबन्धन दलको सात बुँदे निर्देशनविपरीत नेपाली कांग्रेसको तर्फबाट एमालेसँग वार्ता अगाडि बढाई गठबन्धनको मर्म र भावनाभन्दा बाहिर शक्तिका बीचमा पालिका प्रमुख र उपप्रमुखसमेतको बाँडफाँड गरेका पाइएकाले यस सबन्धमा तत्काल शीर्ष नेतृत्वको ध्यानाकषर्ण गराई आवश्यक कदम चाल्नुपर्ने देखिएकाले प्रदेशस्तरीय संयन्त्रबाट आवश्यक कदम चाल्नु हुन यो ध्यानाकषर्ण पत्र पेश गर्दछौं,’ उजुरीमा उल्लेख छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।