काठमाडौं - शुक्रबार राजधानीको ताहचलस्थित पाँचतारे होटेल सोल्टीमा चलचित्र, संगीत, खेलकुद तथा विभिन्न क्षेत्रमा चर्चित व्यक्तिहरूको बाक्लो जमघट थियो । त्यो कुनै राजनीतिक दल वा नेताले आयोजना गरेको कार्यक्रम थिएन ।
तर, पनि चर्चित सेलिब्रिटीहरू फोटो सेसन गर्न व्यस्त थिए । माहोल हेर्दा कुनै अवार्ड कार्यक्रमभन्दा फरक थिएन । तर, यसरी चर्चित सेलिब्रिटीलाई एकै ठाउँमा उभ्याउने काम गरेको थियो हिमानी ट्रस्टले ।
ट्रस्टले नेपालका नाम चलेका सेलिब्रिटीलाई एकै ठाउँ मात्र ल्याएन लामो समयदेखि पारिवारिक घेराभन्दा बाहिर रहँदै आएका पूर्वयुवराज पारस शाहसमेत आफ्ना पिता ज्ञानेन्द्र शाहसँगै देखिए ।
संक्षिप्त पत्रकार सम्मेलनमा ट्रस्टका संरक्षक पूर्वराजा शाहले सम्बोधन गरेका थिए । हिमानी ट्रस्टले विजयादशमी, तिहार तथा छठ पर्वको अवसरमा चियापान समारोहका आयोजना गरेको थियो ।
चियापान समारोहमा नयाँदेखि पुराना पुस्तासम्मका कलाकारहरू पूर्वराजपरिवारका सदस्यहरूसँग तस्वीर खिचेर रमाइरहेका देखिन्थे। कार्यक्रमलाई भव्य र सभ्य रूप दिन कार्यक्रमस्थलमा पञ्चेबाजा बजाइएको थियो। समय समयमा शंखध्वनि पनि बजाइएको थियो। चियापान स्थलमा बाँसुरी र सारंगीको मौलिक धुनसँगै मादल घन्काइएको थियो।
कलाकार, संगीतकार, साहित्यकार, खेलाडीलगायतलाई निम्तो गरिएको कार्यक्रममा आगन्तुकहरूलाई स्वागत गर्न पूर्वयुवराज्ञी हिमानी शाह आफ्ना सहयोगीहरूका साथमा आफैं उभिएकी थिइन्।
उनले कलाकार, खेलाडी, साहित्यकारलगायतलाई कार्यक्रमस्थलसमेत आफैँ देखाएकी थिइन्। पूर्वराजा उठेर चियापानतर्फ लागेपछि कलाकर्मीहरूले उनीसँग पालैपालो एक्ला एक्लै र सामूहिक फोटो खिचाएका थिए।
कलाकारहरूले ज्ञानेन्द्रसँगै पारस, हिमानी र हृदयेन्द्रसँग पनि फोटो खिचाएका थिए। प्रायः कलाकार दौरा–सुरुवाल, साडी–चोलो र सुटमा देखिएका थिए।
फोटो खिचिसकेपछि ज्ञानेन्द्र, पारस र हिमानीले सबैलाई धन्यवाद भन्दै तिहारको शुभकामना दिए। कार्यक्रममा पूर्वरानी कोमल शाह भने देखिएकी थिइनन्।
देशको राजनीति निकै तरल भएको बेला अचानक पूर्वराजपरिवारले किन कार्यक्रम आयोजना गर्यो भन्ने विषयले अहिले तरंग सिर्जना गरेको छ । हिमानी ट्रस्ट सामाजिक सेवाका लागि स्थापना भएको संस्था हो ।
यसले विपदमा परेका नेपालीका लागि विभिन्न सहयोग गर्दै आएको छ । तर, परिवारका सबै एकै ठाउँमा रहने गरी पूर्वराजपरिवारले के सन्देश दिन खोजेको हो भन्ने बुझ्न केही समय कुनै पर्ने हुन्छ ।
देशमा राजा आऊ देश बचाऊ र हिन्दु राष्ट्रको अभियान चलिरहेका बेला पूर्वराजपरिवारको यो कदमले संशय मच्चाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।