काठमाडौं – नेपाल–चीन कार्यकारी परिषद्ले राजधानी काठमाडौं उपत्यकाका २ सरकारी अस्पताललाई झण्डै ५० लाख रुपैयाँ बराबरको अतिआवश्यकीय स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
यसअघि २ चरणमा परिषद्ले देशका विभिन्न अस्पताललाई ११ करोड रुपैयाँभन्दा बढीका स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराइसकेको थियो ।
बाँसवारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र र कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेदिक अनुसन्धान तथा तालिम केन्द्रमा रहेका कोभिड युनिटलाई तेस्रो चरणको सहयोग अभियानअन्तर्गत अक्सिजन कन्सन्ट्रेटर, पावर एअर प्युरिफायर रेस्पिरेटर (पीएपीआर), पीपीई, मास्क, सर्जिकल गाउन, पञ्जा लगायतका सामग्री उपलब्ध गराइएको परिषद्ले जनाएको छ ।
गंगालाल अस्पताललाई पहिलो पटक स्वास्थ्यकर्मीले व्यक्तिगत रूपमा लगाउन मिल्ने श्वासप्रश्वासको हावा शुद्धीकरण उपकरण पीएपीआर मशिन सहयोग गरिएको छ । ब्याट्रीबाट चल्ने फिल्टर सहितको उपकरण लगाएका चिकित्सक र स्वास्थ्यकर्मी बिरामीको साथमा लामो समय रहनसक्ने भएकाले उपचारमा ठूलो राहत मिल्ने अस्पतालका एनेस्थेसिया विभागका प्रमुख डा. आशिष गोविन्द अमात्यले जानकारी दिए । परिषद्ले गंगालाल अस्पतालकै विशेष अनुरोधमा ११ वटा उपकरण उपलब्ध गराएको छ ।
गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले सामान्य अवस्थाका कोभिडका बिरामीको मृत्युदर २ प्रतिशत हुँदा संक्रमित मुटु रोगीको मृत्युदर ६ गुना बढी हुने भएकाले प्राप्त स्वास्थ्य सामग्रीले संक्रमित मुटु रोगीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको आत्माबल बढाउँदै उपचारमा अझ बढी खट्न सहयोग पुग्ने जानकारी दिए ।
परिषद्का अध्यक्ष अनुपरञ्जन भट्टराईले कोरोना महामारी सुरू भएयता नेपाल अधिराज्यभरका करीब २० सरकारी अस्पताललाई ११ करोड रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको बताए । स्वास्थ्य सामग्री सहयोग अभियानलाई काठमाडौंमा मात्रै सीमित नगरेको उल्लेख गर्दै उनले कोरोना महामारीबीच ३ चरणमा भद्रपुरदेखि धनगढीसम्मका अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराइसकेको जानकारी दिए ।
‘प्रदेश १ सरकारलाई मात्रै भेन्टिलेटर, पीसीआर मशिन, मोबाइल एक्सरे मशिन, मोबाइल अल्ट्रासाउन्ड मशिन लगायत साढे ७ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएका छौं,’ उनले भने ।
अस्पतालका कार्यकारी निर्देशक चन्दमणि अधिकारीले कोरोना संक्रमित मुटु रोगीको मृत्युदर अन्यको तुलनामा ५ गुनाभन्दा बढी रहेको भन्दै जोखिम समूहमा वर्गीकरण गरिएका बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ सेवामा समर्पित हुन परिषद्ले उपलब्ध गराएको सामग्रीले ठूलो सहयोग पुग्ने बताएका छन् ।
चीनको स्वायत्त प्रदेश तिब्बतस्थित अन्तर्राष्ट्रिय मित्रताका लागि चिनियाँ जनसंघले नेपालस्थित समकक्षी मैत्री संस्था नेपालचीन कार्यकारी परिषद्लाई सबै स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । सन् २००३ मा स्थापित परिषद्ले नेपालको व्यापार, पर्यटन तथा लगानी प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको छ । गत वर्ष चीनमा कोरोना महामारी चरम सीमामा पुगेको बेला परिषद्ले सिछुवान र युनान प्रान्तीय सरकारलाई मास्क, पञ्जा, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री सहयोगस्वरूप उपलब्ध गराएको थियो ।
परिषद्ले कोरोना महामारीको तेस्रो चरणको तयारीका लागि बालबालिकाले लगाउन मिल्ने मास्क मगाएर कान्ति अस्पताललाई सहयोग स्वरूप उपलब्ध गराउने तयारी गरेको अध्यक्ष भट्टराईले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।