बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नेपालमा ६० वर्षअघि चीनले गरेको सीमा अतिक्रमण अत्याचार यसरी सम्झिन्छन् बुढापाका !

नेपालमा ६० वर्षअघि चीनले गरेको सीमा अतिक्रमण अत्याचार यसरी सम्झिन्छन् बुढापाका !

  • मिडिया डबली
  • सोमवार, जेठ १७ २०७८

  • 6.6K
    SHARES

  • नेपालमा ६० वर्षअघि चीनले गरेको सीमा अतिक्रमण अत्याचार यसरी सम्झिन्छन् बुढापाका !

    गोरखा – ६० वर्षअघि रुईबाट भागेर साम्दो पस्दा कर्माडुण्डुप लामालाई गर्व लागेको थियो । नेपालजस्तो स्वतन्त्र मुलुकको नागरिक हुन पाउँदा लामाले ठूलो सास फेरेका थिए । 

    तर ६ दशक अवधिमा रुईको विकास तीव्र गतिमा भयो । यताको अवस्था भने जहाँको तहीँ हुँदा लामालाई पछुतो लाग्दो रहेछ । उनी अहिले न फर्केर उता जान सक्छन् न त यहाँ आशालाग्दो वातावरण छ । 

    चीनले रुईलाई सन् १९६० मा अधिनमा लिएपछि उनी बुवाआमाको पछि लागेर गोरखाको साम्दो गाउँ आएर बसेका थिए । त्यतिबेला उनी १५ वर्षका आलाकाँचा थिए। अहिले ७६ वर्षका भुक्तभोगी भए । सुखको आशामा यता आए पनि झन् दुःख झेल्नुपर्दा आधा रात सुतेर, आधा रात सोचेर बिताउने गरेको उनी बताउँछन् । 

    ‘आधा रात निद लाग्छ, आधा रात दुःख सम्झेर बित्छ,’ उनी भन्छन्, ‘रुईबाट आउने बित्तिकै १३ वर्षसम्म सामा गाउँलेको मुद्दा झेल्नुपर्‍यो । बल्लतल्ल जितेर नागरिकता, लालपूर्जा पायौं । हाम्रो उता घर थियो, खेत थियो । सबै ककसले बाँडीचुँडी खाइहाले । चाइनाको हक छ भन्छ । हामीले के गर्ने ?’

    नेपालको सरकार चुप लागेपछि आफूहरू उपायविहीन भएको उनको गुनासो छ । चीनले आफ्नो अधिनमा लिएपछि सांस्कृतिक क्रान्तिका नाममा रुईको धर्म, संस्कृति नास गर्न थाल्यो । त्यसपछि रुईका १ सयमध्ये २८ घरधुरीका बासिन्दा भागेर साम्दोमा आई बसेका हुन् । कोही भारत पसे, कोही रुईमै बसे । 

    साम्दो आएका २८ परिवार बढेर ४० भन्दा धेरै घरधुरी भएका छन् । यहाँका अन्य नागरिकको जनजीवन लामासँग मिल्दोजुल्दो छ । ‘करु र आलु मात्र हुन्छ । त्यो पनि वर्षमा एक फेर मात्र उत्पादन हुन्छ । हिउँ परेर बालीनाली कुहिन्छ,’ उनी भन्छन्, ‘त्यसैले जग्गाजमिन बाँझै छन् । बेचौं भने किन्ने मान्छे छैन ।’

    उनी सम्झन्छन्, नेपाल र चीनको साँध पहिले सुक्चे खोला हो । सुक्चे खोलापारि निङ गाउँ छ । खोलावारि रुई छ । पछि मात्रै ‘डाँडा दोसाँध’ बनाएको हो । तब रुई गाउँ पनि चीनको भएको उनी सुनाउँछन् ।

    ‘पहिले दोसाँधमा तीन वर्षसम्म काठको किलो ठोकेर राखेको थियो । पछि सिमन्टीको पिलर गाडेको हो,’ उनी भन्छन् । 

    उनी भन्छन्, ‘दोसाँध छुट्याउने बेला हामी त सानै थियौं । एक–दुई दिनमै छुट्याएको होइन । नेपालका हाकिमहरू २०–२५ दिनसम्म लार्केबाउ (यईथाङ) को चौरमा पाल टाँगेर बसेका थिए । दिउँसो घोडा चढेर डाँडामा जान्थे । साँझमा लार्केबाउमै फर्कन्थे । चाइनाका फौज, सरकारी मान्छेहरूचाहिँ डाँडामै पाल टाँगेर बस्थे । जे गरे पनि चाइनाको खुसी भयो । नेपाली सीमा हाकिमहरू कोही बोल्न सक्दैनन् । लेक लाग्छ, टाउको दुख्छ भन्छन्, चुप्प बस्छन् । चाइनाले जे भन्छ, त्यही मान्छन् । नत्र पहिले सुक्चे खोलावारि रुई सप्पै नेपाल हो । रुईबाट दुई घण्टा हिँडेपछि पुगिने सुक्चेपारि निङदेखि उता मात्रै चाइना थियो ।’ अहिले कोही पनि यसो भन्न नसक्ने उनको गुनासो छ ।

    त्यस भेगकै ज्येष्ठ नागरिक निङ गाउँका ८१ वर्षका हावा बाजेले ‘खोला साँध नगरौं, डाँडा दोसाँध गरौं’ भनेपछि झन्डै एक महिनाको विवाद टुंगिएर रुईलाई साँध बनाइएको उनी बताउँछन् । ‘निङको पो हावा (हावा बाजे) भन्ने बूढा थिए । म पनि चिन्थें । चाइनाका सरकारी टोलीले उनलाई बोलाए । उनले खोला कहिले यता, कहिले उता सरिरहन्छ । त्यसैले डाँडा दोसाँध बनाउनुपर्छ भने । सबैभन्दा जेठाबूढाले भनेको मान्नुपर्छ भनेर कुरा टुंग्याएको हो,’ उनी भन्छन्, ‘बाउबाजेको पालामा त सुक्चे खोला दोसाँध हो । तर त्यो बेला नेपालले खोला साँध हो भन्न सकेन । हामीले के भन्ने ? रुई पनि नेपाल हो भनेको भए त ठीकै हुन्थ्यो नि ! हाम्रो त यता पनि उता पनि खेतबारी थियो। घरगोठ थियो । ओहोरदोहोर गरिरहन्थ्यौं । तर भन्न सकेन । चाइनाले जे भन्यो, त्यही मान्यो ।’

    रुईमा आफ्नो घरखेत रहेको तर जान नपाएकामा साम्दोवासीलाई पीडा छ । ‘हाम्रो उता पनि घर छ । बारी छ । तर, उता जान पाउँदैनौं,’ लामा भन्छन्, ‘सबै अर्काले रोपेर खाइरहेको छ । अर्काले घर बनाइसकेको छ । अब के गर्ने हामी ? हामीले बोलेको कोही सुन्दैन । सरकारले बोले पो सुन्छ ।’

    चिनियाँ सांस्कृतिक क्रान्ति सहन नसकेर भागेर बाउबाजे साम्दो आई बसेका अर्का स्थानीय निमा दोर्जे बताउँछन् । ‘रुईमा बस्दा पनि जिजुबाजेको पालादेखि साम्दोको जग्गामा हाम्रो हकभोग थियो,’ दोर्जे भन्छन्, ‘आउने–जाने भइरहन्थ्यो । जब सांस्कृतिक क्रान्ति भयो । गुम्बाका महत्त्वपूर्ण सम्पदा नष्ट हुन थाले । अनि त्यसको संरक्षण गर्न साम्दो आएर बसेको हो ।’

    रुई गाउँ पैदल हिँडेर जान सात–आठ घण्टा लाग्ने, घोडाबाट जाँदा दुई घण्टामा पुगिने उनको भनाइ छ ।  साँध छुट्याएपछि कतिपय यताका केही मान्छे फर्केर रुई नै गएको लामा बताउँछन् । ‘हामी त साम्दोमा आइसकेका थियौं । कोही–कोही यताका मान्छे ३६–३७ सालपछि भागेर फेरि उतै बस्न गए,’ उनी भन्छन्, ‘उताको सरकार धनी छ । मान्छेलाई सरकारले हेर्छ । सरकारले सेवा, सुविधा धेरै दिन्छ लिन्छ । तर नेपाल सरकारले यहाँको दुःख देख्दैन । त्यसैले कोही मान्छे भागेर फेरि उता बस्न गए । तर हाम्रा बाआमा गएनन् । हामी पनि जान पाएनौं । तर नगएर पनि ठीकै छ । हामी उता गएर व्यापार गर्न सक्दैनौं । पैसा छैन । जता भए पनि हामीलाई उस्तै हो ।’

    आफूलाई चीन सरकारको राहतको केही आशा नरहेको उनको भनाइ छ । ‘दिए पनि नदिए पनि उनीहरूको खुसी हो । नेपाल सरकारसँग पनि केही आशा छैन । चाइना सरकारसँग पनि केही आशा छैन,’ उनी भन्छन्, ‘हामी नेपाली नागरिक हो । यहीँ दुःख गरेर बस्छौं ।’

    उनीहरू नाका खुल्दा वर्षमा एक–दुई फेर रुई जाने गर्थे । तर कोभिडका कारण दुई वर्षसम्म जान नपाएको उनी सुनाउँछन् । ‘त्यहाँ बहिनीहरू छन् । भेट्न जान पा’छैन । खादा ओढाउन जानुपर्छ । त्यो पनि पा’छैन,’ उनी भन्छन्, ‘सीमा खोल भनेर हामीले भनेको चाइना सरकाले सुन्दैन । नेपाल सरकारले भन्दैन ।’

    सीमा नाका खुल्दा ड्याङदेखिका वासिन्दा सामान खरिद गर्न चिनियाँ बजार जोङ्गा, कुङदाङ जान पाउँछन् । चामल, चिनी ल्याउँछन् । आफन्त भेटघाट गर्छन् । 

    नेपाल र चिनियाँ बजारमा सामानको भाउ त उही हो । तर उताबाट ल्याउँदा ढुवानी भाडा कम लाग्ने स्थानीयको भनाइ छ । ‘आलु र करुले वर्ष दिनलाई पुग्दैन,’ अर्की स्थानीय डिकी छुर्जोन भन्छिन्, ‘आरुघाट, बेंसीसहरबाट सामान ल्याउँदा ढुवानी दोब्बर, तेब्बर बढी जान्छ। सहरमा १५ सय रुपैयाँमा पाउने सामान यहाँ ५ हजार रुपैयाँ पर्छ । त्यसैले सबै कुरा चाइनाबाट ल्याउनुपर्छ ।’ तर दुई वर्षदेखि चिनियाँ नाका नखुलेर स्थानीयवासी मर्कामा परेको उनको दुखेसो छ ।

    रुईमा सडक निर्माण भइसक्यो । गाडी चढेर जहाँतहीँ जान सकिने भएको छ । तर साम्दोबाट चार दिन पैदल हिँडेपछि मात्र गाडी चढ्न पाइने स्थानीय डिकी छुर्जोन बताउँछिन् । साम्दोमा स्वास्थ्यकर्मी छैनन् । बालबच्चा बिरामी हुँदा उपचार नपाउने डिकीको गुनासो छ ।

    बालबालिका पढाउन सदरमुकाम वा काठमाडौं लैजानुपर्ने बाध्यता छ । सीमा क्षेत्रका वासिन्दासम्म सरकारको नजर नपुगेको साम्दोबासीको गुनासो छ । शहर पस्दा सुकिलामुकिला मात्रै होइन, सरकारले पनि हेप्ने लामाको गुनासो छ । 

    ‘हामी पनि नेपाली हो नागरिक हो । हामीसँग नेपालको नागरिकता छ । लालपूर्जा छ । काठमाडांैको मान्छेको जस्तै हाम्रो पनि अधिकार छ भन्ने हाम्रो पनि मनमा आउँछ । यहाँबाट काठमाडौं जान कति टाढा छ ? हजुरलाई थाहा छ नि ! हामीलाई कति दुःख छ । अनि त्यहाँका मान्छेले हामीले भनेको मान्छ त ?’ उनी प्रश्न गर्छन्, ‘हामी दुर्गमका मान्छेलाई त लाटा बनाउँछन् । उनीहरूको मात्र हो र यो देश ? हाम्रो पनि होइन र ?’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १ २०७८०३:३९:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend