काठमाडौं – विश्वभरि नै चिनियाँ सामान र खासाको माललाई नक्कलीका रूपमा चिन्ने गरिन्छ । सस्तो भएपनि कम टिकाउ हुने भएकाले चिनियाँ सामानलाई खासै विश्वास गरिँदैन ।
कोरोना भाइरस संक्रमणको महामारीका बेला चीनबाट ल्याइएको सामानमा समेत ‘नक्कली’ छविले निरन्तरता पाएको छ ।
नेपालमा अक्सिजनको अभाव भइरहेका बेला चीनलाई ल्याइएका अक्सिजन सिलिन्डरमा धोका पाइएको छ । चिनियाँ कम्पनीले अक्सिजन सिलिन्डर भनेर कार्बनडाइअक्साइड भर्ने सिलिन्डर पठाएपछि नेपाली व्यवसायी हैरान भएका छन् ।
चीनबाट आएका सिलिन्डरमा अक्सिजन भर्न प्लान्टमा लगेपछि टुटी (नोजल) नमिल्दा नक्कली भएको पोख खुलेको हो । नेपालका निजी कम्पनीले चीनबाट खरिद गरेर ल्याएका सिलिन्डरमा अक्सिजन भर्न नमिल्ने भएका छन् ।
लुम्बिनी अक्सिजन प्रालिमा अक्सिजन भर्न ल्याइएका ९० वटा अक्सिजन सिलिन्डरमा अक्सिजन भर्न नमिलेको सञ्चालक रमेश खनालले बताएका छन् । गुल्मीमा अक्सिजन पठाउने भनेर चीनबाट ल्याइएका सिलिन्डरमा अक्सिजन भर्न खोज्दा सिलिन्डरको टुटी (नोजल) नमिलेको जनाइएको छ । अक्सिजन प्लान्टमा अक्सिजन भर्न नमिएपछि सिलिन्डरहरू काम नलाग्ने भएर थन्किएका छन् ।
अक्सिजन प्लान्टसँग मेल खाने टुटी भारतबाट खरिद गरेर ल्याउने विषयमा समेत छलफल भइरहेको छ । ‘चीनबाट व्यवसायीले ल्याएका सिलिन्डरमा नोजलमा समस्या भएर अक्सिजन भर्न नमिलेको हो,’ उनले भने, ‘नोजल फेर्नुस् भनेर पैसा हाल्दिनुभएको छ । हामीले भारतबाट नोजल ल्याउन लागेका छौं ।’
व्यवसायीले चीनबाट ल्याएका सिलिन्डरमा कार्बनडाइअक्साइड भर्न मिल्ने नोजल भएको भेटिएको सञ्चालन खनालले बताए । कार्बनडाइअक्साइड र अक्सिजन भर्ने नोजल फरक हुने भएकाले ती खाली सिलिन्डरमा नोजल परिवर्तन नगरेसम्म अक्सिजन भर्न नमिल्ने अवस्था आएको छ ।
भारतबाट नयाँ नोजल ल्याएर फेरेपनि सिलिन्डरमा अक्सिजन भर्न समस्या हुने र अस्पतालका बिरामीलाई अक्सिजन दिँदा समेत रेगुलेटरमा राख्न थप समस्या हुने जनाइएको छ ।
टेकु अस्पतालमा व्यवसायीले सहयोग स्वरूप दिएका सिलिन्डरमा समेत नोजल फेर्नुपर्ने समस्या देखिएको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए । ‘अहिले तत्काल सिलिन्डर आवश्यक नभएकाले स्टकमै छन् तर प्रयोगमा ल्याउनका लागि भने नोजल फेर्नुपर्ने हुन्छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।