बैतडी – बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको हत्या प्रकरणका आरोपित किशोरको तेस्रोपटक म्याद थप गरिएको छ ।
शुक्रवार बैतडी जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
जिल्लाका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको बताएका छन् ।
आरोपित नाबालक भएकाले २१ दिनभन्दा बढी प्रहरी हिरासतमा राख्न नपाउने प्रावधान भएकाले त्यसभित्रै सबै अनुसन्धान सक्ने गरी काम भइरहेको छ । केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको मृतकको भजाइनल स्वाब, मुखको स्वाब र योनीबाट निस्केको रगतको परीक्षण रिपोर्ट अझैसम्म नआएको प्रहरीले जनाएको छ । रिपोर्ट आएसँगै मिसिलमा प्रमाण थपिने डीएसपी अधिकारीले बताएका छन् ।
दोगडाकेदार–३ स्थित सनातन धर्म माविमा १२ कक्षामा अध्ययनरत भागरथी माघ २१ गते विद्यालय गएकी थिइन् । दिउँसो २ बजे विद्यालयबाट घर जान हिँडेकी उनको भोलिपल्ट खोचलेक–चडेपानी ग्रामीण सडकबाट ३० मिटर तल वनमाराको झाडीमा शव फेला परेको थियो ।
प्रहरीले सोही विद्यालयमै ११ कक्षामा पढ्ने उनकै १६ वर्षीय छिमेकी भाइलाई घटनाको मुख्य आरोपीका रुपमा प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आरोपितले भागरथीको बलात्कारपछि हत्या गरेको प्रहरीलाई बयान दिइसकेका छन् ।
दोगडाकेदार–७ मा यसअघि भएका अन्य हत्याका घटनाको अनुसन्धान पनि प्रहरीले सुरू गरिसकेको जनाएको छ । सोही गाउँमा १ महिला र ४ पुरुष गरी ५ जनाको हत्या भएको वर्षौं हुँदा पनि घटनाको अनुसन्धान हुन सकेको थिएन । यीमध्ये केही घटनाका उजुरी प्रहरी कार्यालयमा पुगेर पनि अनुसन्धान भएका छैनन् भने केही प्रहरीसम्म पनि पुगेका थिएनन् ।
भागरथीको घटना भइसकेपछि हालसम्म सामसुम पारिएका यी घटनाहरुबारे पीडित पक्ष र स्थानीयले मुख खोलेका हुन् । पहिलेका घटनामा गम्भीरतापूर्वक अनुसन्धान नगरिएको हुँदा अहिले फेरि अनुसन्धान सुरू गरिएको डीएसपी अधिकारीले बताए । यी घटनाका दोषीलाई पनि छिट्टै सार्वजनिक गर्ने उनले दाबी गरेका छन् ।
प्रहरी स्रोतका अनुसार २ वटा घटनाका दोषीनजिक प्रहरी अनुसन्धान पुगिसकेको छ । घटनाको २० वर्ष पुग्न ७ महिना मात्र बाँकी रहेको करीब ६५ वर्षीया वृद्धा खुर्रा कार्कीको हत्या घटना प्रहरीले अहिले हेरिरहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।