काठमाडौं – बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा नजिकका व्यक्तिको नै संलग्नता हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरीले हत्याको अनुसन्धानमा सोमवारसम्म २ दर्जन व्यक्तिलाई सोधपुछ गर्दै अनुसन्धानको दायरामा राखेको पाइएको छ ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा चिनजानका, आफन्त र स्कूलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारीसाधन र त्यस नजिक सम्पर्क भएका फोनलाई समेत अनुसन्धानको दायरामा ल्याइएको जनाएको छ ।
‘घटनाको अनुसन्धानका लागि क्लोज रिङ बनाइएको छ, त्यसमा चिनजानका, नजिकका आफन्त र स्कूलका साथीभाइ, उनीसँग फोन सम्पर्कमा केही दिनयता रहेका व्यक्ति, घटना हुँदा घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारीसाधन र त्यसनजिक सम्पर्क भएका फोनलाई समेत अनुसन्धानको दायरामा ल्याइएको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सिंहले भने, ‘घटनायता हालसम्म २ दर्जन बढी व्यक्तिसँग सोधपुछ गरेका छौं, उनीहरूलाई निगरानीमा नै राखिएको छ ।’
विभिन्न तथ्य र सूचनाका आधारमा शंकास्पदको ‘क्लोज रिङ’ बनाइएको उनले जनाएका हुन् । भागरथीले भारतीय र नेपाली सिमकार्ड प्रयोग गर्ने गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनले भारतमा बस्दै आएका आफन्तसँग कुरा गर्न भारतीय सिमकार्ड प्रयोग गरेको हुनसक्ने र त्यसतर्फ अनुसन्धान आवश्यक परे भारतीय प्रहरीको सहयोग समेत लिइने प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार बुधवार भागरथीलाई मोबाइलमा केही फोन आएको तर उनले फोन ‘रिसिभ’ र ‘कलब्याक’ नगरेको देखिएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डीएसपी नारायण अधिकारीको कमान्डमा सुरूदेखि नै प्रहरी टोली परिचालन हुँदै आएको छ भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलबाट एसएसपी जनकराज पाण्डेको नेतृत्वको टोली समेत खटिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत घटनाको अनुसन्धान गरिरहेको छ भने घटनाको सूक्ष्म अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरको समेत साथ लिँदै अनुसन्धानलाई अघि बढाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बताएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तम सुवेदी समेत आईतवार घटनास्थल पुगेका थिए । उनी हालसम्म बैतडीमै रहेका छन् ।
भागरथी भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पाइएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीले पोस्टमार्टम रिपोर्टले बलात्कारपछि भट्टको घाँटी थिचेर हत्या भएको देखिएको जानकारी दिए ।
‘लिखित रिपोर्टले किशोरी भट्टको बलात्कारपछि हत्या भएको देखिएको छ,’ उनले भने । यद्यपि सामूहिक बलात्कार हो होइन भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसका लागि थप परीक्षण भइरहेको डीआईजी सुवेदीले बताएका छन् ।
रिपोर्टको ‘कज अफ डेथ’ खण्डमा ‘डेथ ड्यु टु स्ट्यांगुलेसन’ भनिएको छ । रिपोर्ट अनुसार यौनाङ्गमा पनि गहिरो चोट लागेको छ, टाउको र हातमा पनि चोट देखिएको छ, शरीरका विभिन्न भागमा स–साना दाग देखिएका छन् ।
घटनास्थलमा प्राप्त भएका सबै तथ्य प्रमाण परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ । प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने प्रहरीले जनाएको छ ।
सनातन धर्म माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत भट्टको शव बिहीवार भेटिएको थियो । उनी बुधवारदेखि बेपत्ता भएकी थिइन् । उनी अध्ययनरत विद्यालयबाट घर फर्किने मुख्य सडकबाट ५० मिटर टाढा उनको शव फेला परेको थियो ।
प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको छ । शव भेटिएको ५ दिन बितिसक्दा पनि दोषी पत्ता लाग्न सकेको छैन ।
तालिम प्राप्त कुकुरले भागरथीको हत्या भएको जंगल क्षेत्र पूरै ‘सर्च’ गरेको छ । प्रहरीले भागरथीका आफन्तसँग सोधपुछ गर्नुका साथै शंकास्पद व्यक्तिमाथि निगरानी बढाएर सूक्ष्म अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रहरीले अनुसन्धानका लागि सम्पूर्ण जनशक्ति परिचालन गरेको जनाएको छ । अनुसन्धान जारी रहे पनि भागरथीका आफन्तले भने घटनाको दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान जारी राखेका छन् । भागरथीको शव जिल्ला अस्पताल बैतडीको शवगृहमा राखिएको छ ।
बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको भजाइनल स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको छ । जिल्ला अस्पताल बैतडीमा भएको पोस्टमार्टमका क्रममा चिकित्सकले उनको स्वाब निकालेका थिए । सो स्वाबलाई महाराजगन्जस्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिने भएको छ । यसबाट अनुसन्धानमा सहयोग पुग्ने विश्वास प्रहरीले लिएको छ ।
संकलित स्वाबबाट पहिले ‘सिमेन’ परीक्षण गरिन्छ । यसबाट ‘बलात्कार’मा संलग्नको वीर्य योनीमा प्रवेश गरेको छ वा छैन भन्ने थाहा हुन्छ । साथै बलात्कारमा १ वा १ भन्दा बढी व्यक्ति संलग्न छन् भन्ने पनि थाहा हुन सक्छ । त्यसपछि डीएनए परीक्षणको समेत विकल्प रहने जनाइएको छ ।
घटनाका बेला भागरथीले लगाएको कपडा र प्रयोग गर्ने गरेको मोबाइलको परीक्षण पनि गरिने भएको छ । मोबाइल परीक्षणका क्रममा केही विषय डिलिट गरिएको भए पनि पत्ता लाग्न सक्ने छ । मोबाइलको परीक्षण भने प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा हुने भएको छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।