बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

निर्मला पन्तजस्तै जटिल बन्दै भागरथी भट्ट हत्या अनुसन्धान ! किन हुँदैछ ढिलाइ ?

निर्मला पन्तजस्तै जटिल बन्दै भागरथी भट्ट हत्या अनुसन्धान ! किन हुँदैछ ढिलाइ ?

  • मिडिया डबली
  • शुक्रवार, माघ ३० २०७७

  • 4.2K
    SHARES

  • निर्मला पन्तजस्तै जटिल बन्दै भागरथी भट्ट हत्या अनुसन्धान ! किन हुँदैछ ढिलाइ ?

    बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा १ हप्ता बित्दा पनि पत्ता लाग्न सकेको छैन ।

    भागरथीको बलात्कार र हत्या अनुसन्धानमा प्रहरी अझै अन्योलमा रहेको छ ।

    प्रहरीले अपराधी पत्ता लाग्ने कुनै ठोस प्रमाण भेटाउन सकेको छैन । तराईको तुलनामा थौरै जनसंख्या र बाहिरी मान्छेको चहलपहल न्यून हुने ठाउँमा हालसम्म हत्यारा पत्ता नलाग्दा भागरथी हत्या घटना पनि निर्मला पन्तको जस्तै जटिल बन्दै गएको छ ।

    प्रहरीले भने प्रविधिको सहयोगबाट हत्यारा पत्ता लाग्ने विश्वास लिएको छ । नेपाल प्रहरी सुदूरपश्चिम प्रदेशका प्रवक्ता मुकेश सिंहले घटनास्थलबाट संकलन भएका तथ्य र प्रमाणहरुको जाँचपछि हत्यारा पत्ता लाग्ने बताएका छन् ।

    घटनास्थलबाट संकलन भएको रगत, मोबाइललगायत तथ्य संकलन गरी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा जाँचका लागि पठाइएको सिंहले बताए ।

    ‘केही व्यक्तिलाई हामीले शंकाको घेरामा राखेका छौं,’ सिंहले भने, ‘संकलित तथ्य र प्रमाणको जाँच रिपोर्टका आधारमा छिट्टै अपराधी पत्ता लाग्ने छ ।’

    भागरथीको बलात्कार र हत्या एकजनाले गरेको हो वा समूहले भन्ने पनि अझै खुल्न सकेको छैन । हालसम्म भागरथीका हत्यारा पत्ता नलाग्नुले घटना योजनाबद्ध हुनसक्ने स्थानीयको अनुमान छ । प्रहरी भने बलात्कार र हत्या आकस्मिक थियो वा योजनाबद्ध भन्ने कुरामा यकिन हुन सकेको छैन ।

    ‘सधैं बिद्यालयबाट एक्लै फर्कने, सामुदायिक वनको सुनसान बाटो भएकाले योजनाबद्ध ढंगले पनि हुनसक्छ, सुनसान बाटोमा एक्लै भेट्टाएर आपराधिक मानसिकताका व्यक्तिले यस्तो गरेको पनि हुन सक्छ,’ उनले भने ।

    निर्मलाको हत्या घटनाभन्दा फरक भएकाले भागरथीको हत्यारा छिट्टै पत्ता लाग्ने प्रहरीको भनाइ छ । निर्मलाको घटनामा सुरूमा प्रहरी प्रमाण जोगाउन चुकेको, आफन्त लगायत आमसमुदायले सुरूदेखि नै आन्दोलन गरेकाले अनुसन्धानमा प्रभाव परेको प्रवक्ता सिंहले बताए ।

    ‘निर्मलाको घटनामा सुरूमा प्रहरी चुकेकाले सबै प्रमाण जोगाउन सकिएन, अनि दोस्रो दिनदेखि नै आन्दोलन गरेर प्रहरीलाई अनुसन्धान गर्न असहज बनाइयो,’ प्रवक्ता सिंहले भने, ‘तर भागरथीको हत्या घटना फरक छ ।’

    भागरथीको शव फेला पर्नेबित्तिकै घटनालाई गम्भीरतापूर्वक लिएर प्रहरी टोली, चिकित्सक समेत घटनास्थल पुगेर प्रमाण र तथ्य संकलन गरिएको सिंहले बताए । समुदायको पनि अनुसन्धानमा सहयोग पाइएकाले पनि दोषी छिट्टै पत्ता लाग्ने उनले बताएका छन् ।

    घटनास्थलमा मिलेका प्रमाणलाई शंकास्पद व्यक्तिसँग जोडेर अनुसन्धान भइरहेको सिंहले बताए । प्रहरीले भागरथीले प्रयोग गर्ने मोबाइलको कल डिटेल, घटनास्थल नजिक मोबाइलको लोकेसनमा देखिएका व्यक्ति, घटनापछि भारत वा जिल्लाबाहिर गएका व्यक्ति, सामाजिक सञ्जालमा जोडिएका व्यक्तिको पनि अनुसन्धान गरिरहेको छ । भागरथीले मोबाइलमा भारतीय नम्बरको सिम र नेपाली नम्बरको सिम प्रयोग गर्ने गरेकी थिइन् ।

    हत्या भएको आठौं दिनसम्म अपराधी पत्ता नलागेपछि निर्मलाले जस्तै भागरथीले पनि न्याय नपाउने हुन् कि भनेर आफन्त र स्थानीय चिन्तित छन् । भागरथीको शव अझै जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

    दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान परिवारका सदस्यले लिएका छन् । बैतडी सदरमुकाम, कैलालीको धनगढी लम्की, डोटीको दिपायल, कञ्चनपुर, डडेल्धुरा लगायत जिल्लामा भागरथीलाई न्यायका लागि प्रदर्शन भइरहेको छ । विद्यार्थीले बिहीवार धनगढीमा प्रदर्शन गरेका छन् ।

    लम्कीमा विप्लव नेकपा निकट विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । दिपायलमा पनि प्रदर्शन भयो । बैतडीमा पनि प्रदर्शन चर्किदै जान थालेको छ ।

    बैतडीका विभिन्न विद्यालयबाट आएका विद्यार्थी, अधिकारकर्मी लगायतले बिहीवार समेत सदरमुकाममा न्याय माग्दै प्रदर्शन गरेका छन् । 

    भागरथीले न्याय नपाउँदासम्म निरन्तर संघर्षमा उत्रने जगन्नाथ बहुमुखी क्याम्पसकी छात्रा निर्मला टेरले बताइन् । ‘भागरथीको हत्यापछि हामीले असुरक्षित महसूस गर्दै आएका छौं,’ टेरले भनिन्, ‘घरबाहिर निस्कन समेत डाराउनुपर्ने अवस्था आएको छ, बलात्कारीलाई कारबाहीको माग हामीले गरेका छौं ।’

    छिटोभन्दा छिटो दोषी पहिचान गरी कारबाही गर्नुपर्ने अधिकारकर्मी रमेश कोलीले बताएका छन् । प्रहरीले केही दिनभित्र दोषी पत्ता लगाउन नसके संघर्ष गर्न बाध्य हुने नेकपा बैतडीका नेता महादेव भट्टले बताएका छन् ।

    माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा हराएकी भागरथीको २२ गते विद्यालय र घरको बीचमा पर्ने लवलेक जंगलमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ३० २०७७०६:२७:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend