धनगढी – बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा ५ दिनदेखि प्रहरी नै अलमलमा परेको छ ।
दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीवार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स अवस्थामा भेटिएको थियो ।
घटनास्थलमा भेटिएका प्रमाण, भागरथीको शवनजिकै भेटिएको उनको मोबाइलको प्राविधिक पक्ष, पोस्टमार्टम रिपोर्ट केलाउँदा पनि प्रहरीले अनुसन्धानको दायरा साँघुरो पार्न सकेको छैन ।
बैतडीका जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी सहितको टोली बिहीवार नै घटनास्थलमा खटिएको थियो । टोलीले घटनास्थलको मुचुल्का तयार पारेको थियो । त्यसदिन घटनाका दोषीको कुनै प्रमाण पाइएको थिएन ।
घटनास्थलमा किशोरीको शवबाहेक केही फेला परेको थिएन । टाउकामा चोट लागेको, भित्री वस्त्र चुँडिएको, शरीरमा टोकेका घाउ भएको, यौनाङ्गबाट रगत बगेको, टाउको र हातमा घाउसमेत रहेको अवस्थामा शव फेला परेको थियो ।
त्यसको दोस्रो दिन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, सरकारी वकिल र जिल्ला अस्पतालका चिकित्सक वसन्त जोशीसहितको टोली पनि घटनास्थल पुगेको थियो । लबलेक वनमा पूरै सर्च गर्दा खासै प्रमाण भेटिएन ।
सुदूरपश्चिम प्रदेश प्रहरीले एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीलाई घटनास्थलमा खटाएको छ । धनगढीबाट तालिमप्राप्त कुकुर, काठमाडौंबाट डीएसपी नेतृत्वको सीआईबीको टोली, जिल्ला प्रहरी प्रशासनले कुनै सुराक पत्ता लगाउन सकेका छैनन् ।
सुदूरपश्चिम प्रदेशका डीआईजी उत्तम सुवेदी आईतवार घटनास्थल पुगेका छन् । ‘डीआईजी सा’प, मेरो टोली, प्रमुख जिल्ला अधिकारी सहितको टोली इलाका प्रहरी कार्यालय खोचलेक (घटनास्थल नजिकको प्रहरी) मुकाम बनाएर बसेका छौं,’ एसएसपी पाण्डेले भने, ‘अनुसन्धानमा सबै उपकरण, जनशक्ति परिचालन गरिएको छ । तर खासै उपलब्धि पाउन सकिएको छैन ।’
एसएसपी पाण्डेले आईतवारको टेक्निकल अनुसन्धानमा भने अनुसन्धान केही साँघुरिएको दाबी गरेका छन् । ‘आईतवार केही सकारात्मक कुरा आएको छ । हामी त्यसको भेरिफाई गरिरहेका छौं,’ पाण्डेले भने, ‘६ जनासँग सोधपुछ गरिएको छ ।’
घटनास्थलमा भेटिएको किशोरीको मोबाइलका आधारमा कल डिटेल निकालेर अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
भागरथीको मोबाइल लोकेसन भने लबलेकको वन नै पाइएको प्रहरी स्रोतले जनाएको छ । ‘उनको लोकेसन लबलेक वन नै देखिएको छ । त्यसैले हत्या वनमै भएको तथ्यले देखाएको छ,’ प्रहरी स्रोतले भन्यो ।
प्रहरीको टेक्निकल अनुसन्धान टोलीले त्यो बेला घटनास्थल आसपास अरू कुन मोबाइल थियो भन्ने पत्ता लगाउन सकेको छैन । ‘मोबाइलमा कुराकानीका आधारमा हामीले त्यसको नम्बरबाट लोकेसन हेर्ने हो । तर फोन गरिएका धेरै नम्बरमा त्यो फेला परेन,’ अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।
जिल्ला अस्पतालले पोस्टमार्टम रिपोर्ट सार्वजनिक गरेको छैन । तर प्रहरी उच्च स्रोतले पोस्टमार्टममा पनि बलात्कारपछि हत्या पुष्टि भएको जनाएको छ ।
‘बलात्कारपछि हत्या भएको रिपोर्ट आएको छ,’ स्रोतले भन्यो । घटनास्थलमै आएका चिकित्सक जोशीले जिल्ला अस्पतालमा पोस्टमार्टम गरेपछि मात्रै मृत्युको कारण पत्ता लाग्ने बताएका थिए । ती किशोरीको शवको शनिवार बेलुकी जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको हो ।
अनुसन्धानमा खटिएका एसएसपी जनकराज पाण्डेले मृतक किशोरीको भजाइनल स्वाब संकलन गरी आईतवार विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको बताए । ‘त्यसका लागि पोस्टमार्टम रिपोर्ट चाहिँदो रहेछ, रिपोर्ट मेलबाट पठाउने गरी भजाइनल स्वाब विधि विज्ञान प्रयोगशालाका लागि पठाइएको छ,’ एसएसपी पाण्डेले भने ।
निर्मला पन्तको घटनाजस्तै पेचिलो देखिएको भागरथी हत्यामा खासै सुराक नपाइएपछि प्रहरीको टोली आईतवार तेस्रो पटक घटनास्थल पुगेको छ । पहिलो दिन बैतडीका डीएसपी सहितको टोली, दोस्रो दिन एसएसपी जानराज पाण्डेसहित सीआईबीको टोली तालिमप्राप्त कुकुर लिएर घटनास्थल पुगेको थियो । आईतवार डीआईजी उत्तम सुवेदी सहितको प्रहरी टोली घटनास्थल पुगेको हो ।
दोगडाकेदार गाउँपालिकास्थित सनातन धर्म माविका विद्यार्थीले आईतवार पटक–पटक खोचलेक बजारमा प्रदर्शन गरेका छन् । उनीहरूले यातायात बन्द गराए । भागरथी १२ कक्षामा अध्ययनरत थिइन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीले भागरथीको हत्यामा संलग्न दोषी पत्ता लगाउन माग गरेका छन् । जिल्ला सदरमुकाम गोठलापानीमा पनि विद्यार्थीले प्रदर्शन गरेका छन् ।
भागरथीका आफन्तले शव बुझ्न अस्वीकार गरिरहेका छन् । शनिवार साँझ पोस्टमार्टम गरिएको थियो । आफन्त शिवराज भट्टले हत्यारा पत्ता नलाग्दासम्म शव नबुझ्ने बताए । उनले घटनामा संलग्न दोषीलाई कारबाही गरी भागरथीलाई न्याय दिनुपर्ने माग गरेका छन् ।
भागरथीको शव जिल्ला अस्पतालमा राखिएको छ । बुधवार विद्यालय गएकी उनी घर नफर्किएपछि खोजी गरिएको थियो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।