काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिकास्थित चडेपानीकी भागरथी भट्टको हत्याकाण्डमा पक्राउ परेका दिनेश भट्टले दिएको जानकारीका आधारमा प्रहरीले अर्काे प्रमाण हात पारेको छ ।
आरोपी दिनेशले जिल्ला प्रहरी कार्यालय बैतडीमा भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिइसकेका छन् ।
फागुन ४ गते पक्राउ परेका दिनेशले भागरथीको हत्या गरेको स्वीकार गरेकोमा बलात्कार भने नगरेको दाबी गर्दै आएका थिए । शवको पोस्टमार्टम रिपोर्टमा प्रहरीले बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको थियो ।
दिनेशले बलात्कार गरेको स्वीकार नगरेका कारण पीडित परिवारले प्रहरीको अनुसन्धानमा शंका गरेका थिए । परिवारले बलात्कारी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका थिए ।
बिहीवार अनुसन्धान अधिकृत र प्रहरी हिरासतमा आफूलाई भेट्न आएका परिवारका सदस्यसँग समेत दिनेशले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ ।
प्रहरीले दिनेशकै बयानका आधारमा भागरथीको घडी समेत घटनास्थलबाट बरामद गरेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार हत्यापछि घडी र मोबाइल झरेकोबारे दिनेशले प्रहरीलाई बताएका थिए ।
‘घटनास्थलमा मोबाइल मात्र बरामद भएको थियो, हामीले घडीबारे सोध्दा अलि माथि फालेको जानकारी दिनेशले दिए,’ अनुसन्धान अधिकृत स्रोतले भन्यो, ‘त्यहाँ गएर हेर्दा घडी पनि भेट्टियो ।’
अभियुक्त दिनेशका बुवा दीपकराज भट्टले समेत छोरा दिनेशलाई भेटेका छन् । दिनेशले आफ्नो परिवारसँग समेत अपराध कबुल गरेको जनाइएको छ ।
‘कतै प्रहरीले कुनै प्रलोभन देखाएर अपराध स्वीकार्न लगायो कि भन्ने शंका थियो तर होइन रहेछ,’ दिनेशका काका लक्ष्मण भट्ट भने, ‘जे हुनु भइसक्यो गल्ती भयो भनेको छ ।’
खोचलेकको सनातन माध्यमिक विद्यालयमा १२ कक्षामा पढ्ने भागरथी माघ २१ गते हराएपछि अर्काे दिन शव फेला परेको थियो । घटनाको १४ औं दिनपछि प्रहरीले ११ कक्षामा पढ्ने आरोपी दिनेशलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।