– उत्तमराज सुवेदी, डीआईजी, प्रहरी प्रमुख, सुदूरपश्चिम प्रदेश
१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएदेखि प्रहरीले धेरै आलोचना खेप्दै आएको थियो । एकाएक भागरथी भट्टको घटना सार्वजनिक भयो ।
घटनाको पनि दोषी पत्ता लगाउन नसके प्रहरीप्रति सर्वसाधारणको दृष्टिकोण के होला भन्ने चिन्ताले धेरै पिरोल्यो । मैले आफूलाई घटनाको केन्द्रमा राखेर अनुसन्धान गर्ने जमर्को गरें, जुन पीडा भागरथीकी आमालाई थियो ।
जब भागरथीको शव फेला पर्यो तब मैले आदेश र निर्देशनका भरमा मात्रै रिजल्ट पाउँदिनँ भन्ने लाग्यो ।
फिल्डमा आफैं खटिएर प्रमाण संकलन नगरे यो घटना अर्को निर्मला प्रकरण बन्ने निश्चित छ भन्ने लाग्यो । बैतडीको लवलेक जंगलमा माघ २२ गते भागरथीको शव फेला पर्यो ।
म २४ गते घटनास्थलतर्फ लागें । कसरी हुन्छ हत्यारा पत्ता लगाउनुपर्छ भन्ने चिन्ताले सताउन थाल्यो । पहिले त शवको परीक्षण भयो । त्यसपछि नजिक फेला परेका अन्य प्रामाणिक वस्तु सुरक्षित गर्ने दायित्व पूरा गरियो । प्रदेशका एसएसपी एवं मेरा सहकर्मी जनकराज पाण्डेको नेतृत्वमा विशेषज्ञ टोली खटाएँ ।
प्रदेशमै कार्यरत इन्टेलिजेन्स टोली, केन्द्रीय अनुसन्धान ब्युरो र जिल्लाका अनुसन्धान टोलीले संयुक्त रूपमा अनुसन्धान सुरू गरे । उनीहरू शंकास्पदको निगरानीमा खटिए ।
सबै टोली खटिँदा पनि घटना यही व्यक्तिले गराएको भन्ने सुराक मिलेन । एकातिर प्रदर्शन सुरू भइसकेको थियो, अर्कोतिर काठमाडौंमा व्यापक खबरदारी र प्रदर्शन देखियो । मेरो टीमलाई अनुसन्धान प्रभावित हुने त होइन भनेर चिन्ता हुनु स्वाभाविक थियो ।
तर मैले अनुसन्धानमा खटिएका सबै टोलीलाई कुनै हालतमा ‘डिमोरलाइज’ हुने होइन भनें। जे आउँछ तुरुन्तै रिपोर्ट गर्न र अनुसन्धानमा भेटिएका तथ्यलाई जोड्न सम्झाएँ ।
गृह मन्त्रालयदेखि प्रहरी महानिरीक्षकसम्मले घटनाको अनुसन्धानबारे सोधपुछ गरिरहनुहुन्थ्यो । त्यसले पनि अनुसन्धान गर्न थप ऊर्जा दिन्थ्यो ।
हामीले अनुसन्धानलाई कसरी साँघुरो पार्ने भनेर कमान्ड सेन्टर बनायौं । प्राविधिक पक्ष, सूचना संकलन, आएका सूचनाको विश्लेषण गर्न छुट्टाछुट्टै टोली बनायौं । साधारण सूचनालाई पनि मुख्य सूचनासँग जोड्ने काम गर्यौं । शंकाको घेरामा रहेकाहरूलाई नथुनी सोधपुछ गर्यौं । यसले पनि अनुसन्धानमा सहयोग पुग्यो ।
अनुसन्धान टुंगोमा पुग्नुमा आन्दोलनरत पक्ष, गाउँपालिका, स्थानीय भद्रभलादमी, पूर्व प्रहरी र बैतडीकै बहालवाला प्रहरीले सहयोग गर्नुभयो । मैले उहाँहरूलाई भीडले अनुसन्धान हुँदैन भनेर सम्झाएँ । तपाईंहरू शान्त बस्नु नै अनुसन्धानले छिटो गति लिनु हो भनेर सुझाएँ ।
हामीले विभिन्न शंकाले हेर्यौं । कतै सँगै पढ्ने साथीबाटै त यो घटना भएन भन्ने लाग्यो । अनुसन्धान त्यतातिर मोड्यौं । भागरथी कति बजे स्कुलबाट बाहिरिइन् ? उनीसँग कोको थिए ? यस्ता सूचना बटुल्दै जाँदा दिनेश भट्ट (आरोपी) को व्यवहार शंकास्पद देखियो ।
भागरथीको पछि–पछि दिनेश नै लागेको केही विद्यार्थीबाट थाहा भयो । यो रहस्य भागरथीको शव फेला परेको तेस्रो दिनदेखि खुल्यो ।
दिनेशलाई सोधपुछ गर्दा करीब ३५ मिनेट उनी कहाँ गए भन्ने विषय रहस्यमय बन्यो । उनलाई लवलेक जंगलकै आसपास देख्ने व्यक्तिसँग प्रहरीले सनाखत (पुष्टि) गरेपछि हाम्रो अनुसन्धान दिनेशसँग नै बढी केन्द्रित भयो । भागरथी माघ २१ गते करीब २ बजे खोचलेक बजारमा देखिएकी थिइन् । दिनेश पौने १ बजे पढाइ पूरा नगरी निस्किसकेका थिए । बीचमा देख्नेले पनि भागरथीको पछिपछि लागेर दिनेश हिँडेको बताएका थिए ।
हामीले अनुसन्धानमा दुई सयभन्दा बढीलाई सोधपुछ गर्यौं । २२ जनालाई त शंकाकै घेरामा राखेर केरकार गर्यौं । तर दिनेशको व्यवहार, बयान र अन्य प्रामाणिक वस्तुले उनी मुख्य आरोपी हुन् भन्नेमा कुनै दुविधा रहेन ।
अनुसन्धानका विभिन्न विधि हुन्छन् । जुन दिन म आफैं कुकुर लिएर घटनास्थल पुगें, त्यही दिन दिनेश घटनास्थलमा पुगेनन् । हामीलाई शंका त्यहीँ लाग्यो । घरमा पनि दिनेशले डराएजस्तो व्यवहार गर्ने र छट्पटाउने गरेको पाइयो ।
फागुन ३ गते दिनेशलाई सम्झाइबुझाइ केरकार गर्दा बल्ल घटना स्वीकारे । उनले पुरानो रिसइबीका कारण हत्या गरेको बताए । अन्य प्रमाणले पनि दिनेश नै आरोपी हो भन्ने संकेत गरेपछि हामी निक्र्योलमा पुग्यौं । यो घटनामा दिनेश नै संलग्न हो भन्ने पुष्टि भयो ।
पोस्टमार्टम रिपोर्टले भागरथीको घाँटी थिचेर हत्या भएको र यौनसम्पर्क समेत भएको देखाएको थियो । हामीले प्रहरीकै विधिविज्ञान प्रयोगशालामा शव, कपडा र शरीरका विभिन्न भागमा लागेका चोटको नमूना पठाएका छौं । त्यसको रिपोर्ट आएपछि थप प्रमाण बलियो हुन्छ ।
भागरथीको बलात्कारपछि हत्याका आरोपी पत्ता लाग्नुमा मलाई मात्रै जस जाँदैन । अनवरत रुपमा १३ दिनसम्म खटिएर प्रमाण संकलनमा लागेका सबैलाई उत्तिकै जस जान्छ । समग्रमा नेपाल प्रहरीलाई नै जस जान्छ ।
(डीआईजी सुवेदीसँग अन्नपूर्णकर्मी सुवास गोतामेले गरेको कुराकानीमा आधारित) आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।