काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीय किशोरी भागिरथी भट्टको बलात्कार तथा हत्यामा संलग्न रहेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले हत्यामा संलग्न रहेको साबिती बयानका आधारमा भागिरथी पढ्ने सनातन माध्यमिक विद्यालयमा नै ११ कक्षामा अध्ययनरत दिनेश भट्टलाई पक्राउ गरी बुधवार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । भागरथी १२ कक्षामा अध्ययनरत थिइन् ।
घटनाको अनुसन्धानका लागि सुरूदेखिको प्रहरीको सक्रियता र स्थानीयसँगको संदिग्ध व्यक्तिको सुराकका आधारमा प्रहरीले विभिन्न व्यक्तिको ‘टाइमलाइन’लाई ‘क्लोज सर्भिलेन्स’मा राख्दै पच्छ्याएको थियो । सो क्रममा प्रहरीले भागरथी हत्यामा संलग्न अभियुक्त दिनेशलाई मंगलवार पक्राउ गरेको थियो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदीले घटनामा संलग्न रहेको आशंका गरिएका व्यक्तिलाई विभिन्न सबुत प्रमाण र म्यानुअल तथा प्राविधिक पक्षको जाँचपछि हत्यामा संलग्न रहेको पुष्टि गरी पक्राउ गरिएको बताए । सुवेदीले प्रहरीसमक्ष आफूले नै हत्या गरेको साबिती बयान पनि दिएको बताए ।
‘प्रहरीले यस घटनाको निकै नै गम्भीरतापूर्वक अनुसन्धान गरेको छ, घटनामा संलग्न रहेको आशंका गरिएका व्यक्तिलाई विभिन्न सबुत प्रमाण र म्यानुअल तथा प्राविधिक पक्षको जाँच र उनको साविती बयानपछि हत्यामा संलग्न रहेको पुष्टि गरिएको हो,’ सुवेदीले भने ।
प्रहरीले घटनामा उनको संलग्नता पुष्टि हुने प्रशस्त आधार र प्रमाण भेटिएपछि तथा दिनेशले स्वीकार गरेको बताएको छ । घटनास्थलबाट प्राप्त सबुत प्रमाणलाई विभिन्न तथ्यका आधारमा परीक्षण गर्दै आइएको प्रहरीले भनेको छ ।
प्रहरीले अभियुक्त मानेका दिनेशले पारिवारिक रिसइबीका कारण आफूले भागिरथीको हत्या गरेको बयान प्रहरी समक्ष दिएको जनाइएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी एवं प्रवक्ता मुकेश सिंहले अभियुक्तको बयान, परिस्थितिजन्य प्रमाण र मोबाइल कल डिटेल, लोकेसन लगायत म्यानुअल र प्राविधिक प्रमाणका आधारमा उनी नै सो घटनाको अभियुक्त भएको पुष्टि भएको बताए ।
सुवेदीका अनुसार प्रहरीले भागरथी हत्या प्रकरणमा घटनाका बखत घटनास्थल आसपास रहेका तर घटनापछि अन्यत्र गएकालाई सन्दिग्धको घेरामा राख्दै आइरहेको थियो । सो क्रममा प्रहरीले घटना हुँदा खोचलेक बजार आसपास रहेका तर त्यसपछि काठमाडौं, धनगढी, कञ्चनपुर, डडेल्धुरा र बैतडी सदरमुकाम पुगेका ७ जनालाई सूक्ष्म निगरानीसहित अनुसन्धानको दायरामा ल्याएको थियो ।
प्रहरीले गत शनिवार कञ्चनपुरको महेन्द्रनगरबाट भारत जान लाग्दै गर्दा १ जनालाई पक्राउ समेत गरी बयान लिएको थियो । तर उनी घटनामा संलग्न नरहेको खुलेको छ ।
अनुसन्धानकै क्रममा प्रहरीले घटना हुँदा अघि भागरथीसँगै स्कुलबाट निस्किएका स्कुलका विद्यार्थीमार्फत सूचना बटुल्दै आएको थियो । सो क्रममा स्थानीयले समेत भागरथीसँगै दिनेश समेत खोचलेक बजार आसपास देखिएको सूचना प्रहरीलाई दिएका थिए । त्यसपछि प्रहरीले दिनेशका हरेक गतिविधिलाई ‘वाच’ गर्दै आइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सिंहले बताए ।
‘उनलाई हामीले पहिलेदेखि नै क्लोज सर्भिलेन्समा राखेका थियौं, उनी घटनाअघि मृतकसँगै रहेको सूचना प्रहरीले पाएको थियो, त्यसबखतबाट नै निगरानी बढाएका थियौं, सो क्रममा उनले भनेका धेरै कुरा झूट रहेको र मेल नखाएको देखियो,’ उनले भने, ‘ती सबै आधार र प्रमाणबाट घटनामा उनको संलग्नता पुष्टि भयो, बयानका क्रममा उनले घटना आफैंले घटाएको स्वीकार गरे ।’
प्रहरीले घटनाको अनुसन्धानमा भागरथीका आफन्त, साथी, विद्यालयका शिक्षक, चिनेजानेका व्यक्ति, घटनास्थल हुँदै हिँडेका व्यक्ति, सवारीसाधनका चालक लगायतलाई अनुसन्धानका क्रममा सोधपुछ गरेको थियो ।
त्यहीबीचमा शंकास्पद गतिविधि देखिएपछि प्रहरीले दिनेशमाथि शंकाको सूइँ तेस्र्याउँदै आइरहेकै थियो । सो क्रममा घटनाविरुद्ध प्रदर्शन पनि जारी थिए । शव भेटिए पछिको प्रदर्शनमा पनि दिनेश सहभागी रहेका थिए । तर उनी अन्य साथीभन्दा अघि नै प्रदर्शनस्थलबाट निस्किएका देखिएका थिए । त्यतातर्फ पनि प्रहरीले निगरानी राख्दै आएको थियो ।
प्रहरीले घटनाका अनुसन्धानका लागि तालिम प्राप्त कुकुर घटनास्थलमा लैजाने र कुकुरले घटनामा संलग्न व्यक्ति सुँघेर नै पत्ता लगाउने भन्ने हल्ला भएपछि भने उनी विरोध सभामा सहभागी नभई गोठालो गएको सूइँको प्रहरीले पाएको थियो । त्यसपछि प्रहरीले दिनेशमाथि निगरानी झनै बढाएका थिए ।
‘भागरथीसहित केही विद्यार्थी स्कूलबाट निस्किएको, बीचमा अलमलिएको र घरमा पुगेकोदेखि घटना भएकासम्मका विषय आरोपितले स्वीकार गरेको अवस्था हो,’ अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने ।
प्रहरीले दिनेशसँग समेत पटक–पटक सोधपुछ गरेको थियो भने मंगलवार मात्रै उनले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरु एउटै गाउँका रहेका छन् ।
भागरथी जब घरबाट हिँडिन् !
२१ माघ
घटना १
बुधवार बिहान ९ बजे भागरथी भट्ट नियमितजस्तै स्कूल निस्किन्छिन् । उनी करीब १० बजे आसपास स्कूल पुगेर दैनिकजस्तै प्रार्थनामा सहभागी हुन्छिन् । कक्षा सुरू हुन्छ, १ः३० बजेसम्म पढ्छिन् । त्यसपछि उनी घरतर्फ लाग्छिन् ।
घटना २
भागरथीसँगै १२ कक्षामा पढ्ने तर उनले भाइ भन्ने भानदेव भट्ट पनि स्कूलबाट सँगै निस्किएका हुन्छन् । केही साथीहरु पनि सँगै हुन्छन् । ११ कक्षामा पढ्ने केही विद्यार्थी पनि निस्किन्छन् । केही समयमा नै उनीहरु नजिकको खोचलेक बजार पुग्छन् ।
खोचलेकमा भानदेवले भागरथीलाई आफू साथीहरुसँगै कपाल काटेर आउने भन्दै जान आग्रह गर्छन् । भानदेवका १ साथी र ११ कक्षामा पढ्ने दिनेश भट्ट कपाल काट्न त्यही रोकिन्छन् । भागरथी र उनकी साथी ममता भट्ट घरतर्फ अघि बढ्छन् ।
ममताको घर काँकडा भन्ने स्थानमा हो, उनको घर जाने बाटो फरक छ । केहीबेरमा नै उनी भागरथीसँग छुट्टिन्छिन् ।
घटना ३
बजारमा कपाल काट्ने बाहना बनाएको दिनेश खोचलेकमा हुँदैन । ऊ भागरथीलाई बाटो कुर्दै अघि नै लवदेव वनमा पुग्छ । करीब साढे २ बजे भागरथी पनि त्यहाँ पुग्छिन् । त्यस बखत दिनेशले भागरथीलाई जबरजस्ती सुरू गर्छ ।
घटना ४
दिनेशको पन्जाबाट फुत्किन भागरथी प्रयासरत हुन्छिन् । उनी भाग्न र प्रतिकार गर्न हर प्रयास गर्छिन् । तर सक्दिनन् र लड्छिन् । सडकभन्दा केही तल पुग्छिन् ।
दिनेशले भागरथीको मुख थुनेर जबरजस्ती गर्छ र पोल खुल्ने डरले घाँटी थिचेर हत्या गर्छ । सो समय करीब ३ बजेको आसपास हुन्छ । हत्यापछि उसले भागरथीको मोबाइलको ‘कललग’ डिलिट गर्छ र ब्याट्री निकालेर मोबाइल केही तल फालिदिन्छ । दिनेशले कुन उद्देश्यका साथ भागरथीको मोबाइलको ब्याट्री झिक्यो भन्ने खुलेको छैन ।
घटना ५
दिनेश अलमलमा पर्छ । उ झाडीको बाटो हुँदै करीब ८०० मिटर उत्तरपूर्व अर्थात् खोचलेक बजारतर्फ नै फर्किन्छ । फेरि अनि उ बिस्तारै घटनास्थलको बाटो हुँदै आफ्नो घरतर्फ लाग्छ । केहीमाथि पुगेपछि खेल मैदानमा नजिक एक स्थानीयले करीब ३ः३० बजेतिर दिनेशलाई भेट्छन् । त्यसपछि उ अगाडि बढ्छ र घरमा पुग्छ अनिनियमित काम गर्छ ।
२२ माघ
घटना १
भागरथी हराएकी छन् । खोजी जारी छ । साथीहरुले भागरथीको मृत शरीर देख्छन् । उनीहरू गाउँमा गएर घटनाबारे भन्छन् र सबै गाउँले घटनास्थल लाग्छन् ।
घटना २
अपराधीलाई कारबाहीको माग हुन्छ । भागरथीलाई न्याय मागिन्छ । दिनेश पनि त्यहीँ नारा लगाइरहेका हुन्छ । तर उ धेरै समय त्यहाँ बस्दैन, घर जान्छ ।
२३ माघ
घटना १
प्रहरी बाक्लो संख्यामा तैनाथ छ । घटनाको अनुसन्धान सुरु भइसकेको छ । प्रहरी सुराक खोजीमा हुन्छन् । अनुसन्धानमा तालिमप्राप्त कुकुर ल्याउने तयारी हुन्छ । कुकुरले सुँघेरै अपराधी पत्ता लगाउने हल्ला बजारभरि छरिन्छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट डीआईजी उत्तमराज सुवेदी आफंै कुकुर लिएर घटनास्थल आउने चर्चा चल्छ ।
घटना २
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर र अनुसन्धान टोली घटनास्थल पुग्छ । विद्यालयका सबै विद्यार्थी, शिक्षक र गाउँले घटनास्थलमा हुन्छन् । दिनेश भने गोठालो जान्छ । प्रहरी घटनास्थलमा टोलीको आएको को नआएको बुझ्न खोज्छ ।
कुकुरले सुँघेर पत्ता लगाउने भनेपछि कतै आफंैलाई सुँघ्न आइहाल्ने हो कि भन्ने त्रासले दिनेश घटनास्थल नआएर गोठालो गएको अनुसन्धान अधिकृतको दाबी छ । अनुसन्धान अधिकारीसमक्ष पनि दिनेशले कुकुर आएको थाहा पाएपछि आफूलाई संकेत गर्न सक्ने भन्दै घटनास्थल नआएको बयान दिए ।
घटना ३
त्यहीबीचमा महेन्द्रनगरबाट अर्का एक व्यक्ति पक्राउ पर्छन् । तर उनको संलग्नतामा कुनै छनक प्रहरीले पाउँदैन । उनी डीएनए लगायतका परीक्षण गराउन सजिलै राजी हुँदै पुुष्टि गर्न चुनौती दिएपछि अनुसन्धान दिनेशमाथि नै केन्द्रित हुन थाल्छ ।
४ फागुन
घटना १
दिनेशमाथि प्रत्येक दिन निगरानी राख्दै सोधपुछ हुन्छ । दिनेशले केरकारका बेला केही झूट बोल्छन् । प्रहरीले त्यसलाई ख्याल गर्छ र जाँच गर्न थाल्छ । उनले भनेका ती विषय झूट नै ठहर्छ ।
घटना २
त्यसपछि भागरथीभन्दा पहिले नै आफू गएको, भागरथी जाँदा को–को गएका थिए भन्ने सम्बन्धमा पनि झूट बोलेको, उसले बजारबाट निस्के भनेको समय र बाटोमा उसलाई देख्ने मान्छेले भेटेको समय आदि नमिलेपछि प्रहरीले बीचको समयको खोजी गर्छ र ४ माघमा प्रहरीले दिनेशलाई प्रहरी कार्यालयमा बोलाउँछ ।
घटना ३
साँझ ७ बजेबाट अनुसन्धान टोलीले दिनेशमाथि थप केरकार गर्न थाल्छ । लगातार केरकारपछि बल्ल दिनेशले घटनामा आफ्नो संलग्नता स्वीकार गर्छन् ।
उनले आफू बाटो ढुकेर बसेको र भागरथी त्यहाँ पुुगेपछि जबरजस्ती गरेको स्वीकार गर्छन् । अनुसन्धान अधिकारीसमक्ष बयान दिँदा दिनेशले कुकुर आएको थाहा पाएपछि डर लागेकाले त्यहाँ नआएर गोठालो गएको बयान दिन्छन् ।
प्रहरीले उनको बयानमा प्राप्ततथ्य र घटनास्थल आसपासका प्रमाण तथा स्थानीयसँगको सोधपुछपछि उनी नै घटनाको अभियुक्त साबित गर्छ र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्छ । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।