काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका व्यक्तिलाई जेल नपठाउने तयारी सरकारले गरेको छ ।
सरकारको तर्फबाट अनुसन्धान गरिरहेका प्रहरी र सरकारी वकिलबीच पक्राउ परेका व्यक्ति नाबालिग भएकाले जेल नपठाएर सुधार गृह पठाउनेबारे छलफल चलेको छ ।
पक्राउ परेका अभियुक्त दिनेश भट्टको एसईई परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र अनुसार उनलाई १६ वर्ष पूरा भएको छैन । स्थानीय भूमिराज माध्यमिक विद्यालय चडेपानीका प्रधानाध्यापक प्रजापति भट्टले एसईईको प्रमाण पत्रमा दिनेशको जन्म मिति २०६१ फागुन १० गते उल्लेख रहेको बताए । यसरी दिनेशलाई आगामी फागुन १० गते मात्रै १६ वर्ष पूरा हुनेछ ।
नागरिकता बनाउन उमेर नपुगेकाले प्रहरीले विद्यालयबाटै जन्म मिति प्रमाणित गराएर उनलाई जेल नपठाई सुधार गृह पठाउनेबारे छलफल गरिरहेको छ ।
घटना भएको दिन माघ २१ गतेलाई आधार मान्दा दिनेशलाई १६ वर्ष पूरा हुन २० दिन बाँकी रहने देखिएको छ । हत्या अभियोग पुष्टि भएमा दिनेशले पाउने सजायमा बालबालिका सम्बन्धी ऐन २०७५ पनि आकर्षित हुनेछ ।
ऐन अनुसार १८ वर्ष उमेर नपुगेका व्यक्तिलाई नाबालिग मानिन्छ । १६ वर्ष उमेर पुगेको भए पनि ७५ प्रतिशत सजाय हुने कानूनी प्रावधान रहेको छ ।
बालबालिका सम्बन्धी ऐनको दफा ३६ उपदफा (३) मा उल्लेख छ, ‘१४ वर्ष वा सोभन्दा माथि र १६ वर्षभन्दा कम उमेरको बालबालिकाले कुनै कसूरजन्य कार्य गरेको भए निजलाई कानुन बमोजिम उमेर पुगेको व्यक्तिलाई हुने सजायको आधा सजाय हुनेछ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।