काठमाडौं – बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा स्थानीय दिनेश भट्टको संलग्नता रहेको पाइएको छ ।
भागरथी अध्ययन गर्ने सनातन माध्यमिक विद्यालयमा ११ कक्षामा पढ्ने दिनेशको संलग्नता पुष्टि भएपछि प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा दिनेशलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीका अनुसार दिनेशले दिएको बयानमा प्रतिशोध साध्न भागरथीको हत्या गरेको बताएका छन् । भागरथीका बुवाले आफ्नी फूपूलाई दुर्व्यवहार गरेकाले भागरथीको हत्या गरेको बयान दिनेशले प्रहरीमा दिएका छन् ।
भागरथीको हत्या घटनापछि उनी भागरथीका लागि न्याय माग्दै प्रदर्शनमा सहभागी रहेका थिए । तर उनको व्यवहार भने परिवर्तन भएको नजिकबाट चिन्नेहरूले बताएको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलबाट त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको डीआईजी सुवेदीले जानकारी दिए । दिनेशविरुद्ध ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान हुने सुवेदीले जानकारी दिएका छन् । दिनेशविरुद्ध भागरथीका दाइले किटानी जाहेरी दिएका छन् ।
माघ २१ गते सनातन माध्यमिक विद्यालयमा पढ्न गएकी भागरथी साँझसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा अर्काे दिन सडकबाट ५० मिटर तल झाडीमा शव भेटिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।