बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रहरी अनुसन्धान : भागरथी भट्टसहित २ जनाले भीरकट्याको भीरमा चाउचाउ खाएपछि ...

प्रहरी अनुसन्धान : भागरथी भट्टसहित २ जनाले भीरकट्याको भीरमा चाउचाउ खाएपछि ...

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २ २०७७

  • 7.3K
    SHARES

  • प्रहरी अनुसन्धान : भागरथी भट्टसहित २ जनाले भीरकट्याको भीरमा चाउचाउ खाएपछि ...

    बैतडी – बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ ।

    भागरथी पढ्ने विद्यालयदेखि झण्डै ५०० मिटर दूरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन सकिरहेको छैन ।

    भागरथी माघ २१ गते दिउँसो १ः४५ बजे अर्थात् टिफिनका बेला सनातन धर्म मावि खोचलेकबाट घर हिँडेकी थिइन् । उनले खोचलेक बजारको एक पसलमा चाउचाउ किनेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

    उनले त्यो चाउचाउ बजारबाट झण्डै ३०० मिटर दूरीमा रहेको भीरकट्याको भीरमा खाइन् । ‘भीरकट्याको भीरमा चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिएका छन् । त्यतिबेला २ जना थिए । दुवै भीरकट्याको भीरबाट छुट्टिए,’ एक प्रहरी अधिकृतले भने, ‘तर त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ ।’ भीरकट्याबाट घटनास्थल झण्डै २ किमि दूरीमा छ ।

    त्यसदिन दिउँसो २ः४७ बजे भागरथीको मोबाइल स्विच अफ भएको छ । उनको शवनजिकै झण्डै १० मिटरमा ब्याट्री झिकिएको मोबाइल भेटिएको थियो । प्रहरीको तालिमप्राप्त कुकुरले त्यो मोबाइल पत्ता लगाएको हो । प्रहरीको कुकुरले घटनास्थलबाट सय मिटरसम्म भीरकट्याको भीरतर्फ पछ्याएको प्रहरीले जनाएको छ ।

    ‘राति पानी परेकाले त्यसपछि कुकुर अलमलमा पर्‍यो । तर अभियुक्त भीरकट्यातिर लागेको अनुमान भने गर्न सकिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, ‘पानी परेकाले अभियुक्तको बास्ना कुकुरले पत्ता लगाउन सकेन ।’

    घटनाको अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी र एसएसपी जनकराज पाण्डेसहित केन्द्रीय अनुसन्धान ब्युरोको टोली प्रहरी चौकी खोचलेकमा छ । तर प्रहरीले घटनाको कुनै तथ्य बाहिर ल्याउन सकेको छैन । प्रहरीले अनुसन्धानमा रहेको, फराकिलो घेरा साँघुरो भएको मात्रै बताउने गरेको छ ।

    टेक्निकल टीमले भागरथीको मोबाइलका २ सिम बरामद गरेको छ । तीमध्ये उसका बुवाले प्रयोग गर्ने नेपाली नम्बरको सीमबाट त्यो दिनभर कल भएको छैन । अर्को सीम भारतीय मोबाइल कम्पनीको छ । 

    ‘भारतीय मोबाइलमा केही कल देखिन्छन् । तर नेपाली सिममा गरिएको कलका आधारमा प्रहरीले खासै सुराक फेला पार्न सकेको छैन,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने ।

    भागरथीको शव भेटिएको स्थानमै हत्या भएको हो भन्ने धेरै आधार देखिएका छन् । घटनास्थलमा रगत बगिरहेको भेटेको छ । भागरथीको सर्टको बटन र २ वटा हेयर ब्यान्ड रबर पनि भेटिएका छन् । उनको च्यातिएको अवस्थाको ज्याकेट पनि घटनास्थलमा भेटिएको छ । ‘यी कुराले घटनास्थलमा हत्या भएको पुष्टि हुन्छ,’ एक प्रहरी अधिकृतले भने ।

    भीरकट्याबाट घटनास्थलसम्म जाँदा २ वटा बस्ती छन् । प्रहरी भन्छ, ‘त्यो बस्तीका मानिसले उनलाई घटनास्थल गएको देखेका छैनन् । हामीले १/१ गरेर सबैलाई सोधिसक्यौं तर कोही देखिन भन्छन् ।’ भागरथीको झोला शरीरमा भिरेकै अवस्थामा थियो ।

    ‘सिल्ल भन्ने बस्तीबाट छिरेको भए कसै न कसैले देख्थे । तर कतै गाउँभन्दा फरक बाटोबाट लगियो कि भनेर पनि अनुसन्धान भइरहेको छ । प्रहरीको कुकुरले पनि प्रायः हिँड्ने गरिएको सडक मुनितिरको वनलाई पछ्याएको थियो,’ एक प्रहरी अधिकृतले भने ।

    भागरथीका काका शिवराज भट्टले त्यो दिन चडेपानीको भूमिराज माविमा निर्माण सामग्री पुर्‍याउन ४ वटा ट्रयाक्टरले दिनभरि ओहोरदोहोर गरेको बताए । ‘ट्रयाक्टरहरु चलिरहेका थिए । मानिसको ओहोरदोहोर थियो । सडकको ३० मिटरमा बलात्कार हुनै सक्दैन,’ भट्टले भने, ‘दिनभर बलात्कार गरी राति त्यो ठाउँमा ल्याएर मारिएको हुनसक्छ ।’

    प्रहरीले भागरथी हत्या घटनामा कसैलाई पक्राउ गरेको छैन । प्रहरीले झण्डै २०० जनालाई सोधपुछ गरिसकेको छ । स्थानीयवासी प्रहरीले पक्राउ नै नगरेको भन्दै गुनासो गर्छन् । तर प्रहरीले चडेपानीसहित वडा नम्बर ७ का हरेक घरको तथ्यांक संकलन गरेको बताएको छ ।

    ‘हामीसँग वडाभरिको हरेक घरको तथ्यांक छ,’ डीआईजी सुवेदीले भने, ‘त्यो दिन गाउँ छाडेर को बाहिर गयो ? यसअघिका अपराधमा को–को संलग्न थिए ? को–को फरार थिए ? गाउँभरिमा त्यो दिन चलेका ट्रयाक्टर, मोटरसाइकल सहितका सबैलाई सोधपुछ र अनुसन्धानको दायरामा ल्याइसकेका छौं ।’

    डीआईजी सुवेदीले शंकास्पदलाई प्रहरीले नजरमा राखेको बताएका छन् । ‘गाउँमै भए पनि उनीहरू प्रहरी कस्टडीमा झैं छन्,’ सुवेदीले भने, ‘चौकीमा ल्याएकालाई मात्रै पक्राउ भन्न मिल्दैन । अनुसन्धानको दायरामा आएका सबै पक्राउसरह नै हुन् ।’

    भागरथीको हत्यापछि गाउँ छिरेका प्रहरीलाई चडेपानीका स्थानीयले खासै सूचना दिन मानेका छैनन् । ‘स्थानीयले आन्दोलन नगरिदिएर हामीलाई धेरै सहयोग भइरहेको छ । तर उनीहरू घटनाबारे खासै बोल्न मान्दैनन्,’ खोचलेक प्रहरी चौकीमा रहेका डीआईजी सुवेदीले भने ।

    सुवेदीले जनताका तर्फबाट पाउने सूचना नै अनुसन्धानका लागि मुख्यस्रोत भएको बताए । ‘सुरूका बेला त कोही बोल्नै मानेनन्, केही थाहा छ भने थाहा छैन भनेर पन्छिए,’ उनले भने, ‘तर अहिले अलि–अलि सूचना आउन थालेको छ ।’

    भागरथीको शव १० दिनदेखि जिल्ला अस्पतालमा राखिएको छ । जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. वसन्त जोशीले काठको बाकस बनाएर अहिले अस्पतालभरिका डिफ्रिजमा बरफ जमाएर जेनतेन शव राखिएको बताए ।

    ‘जेनतेन डिस्कम्पोज हुनबाट जोगाइएको छ । तर यसभन्दा बढी दिनसम्म राख्दा शव कुहिन थाल्छ,’ डा. जोशीले भने ।

    आफन्तले हत्यारा पक्राउ नपर्दासम्म शव नबुझ्ने भनेपछि तनाव थपिएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भागरथीको हत्या अनुसन्धानका लागि चाहिने सबै कुरा संकलन भएर विधि विज्ञान प्रयोगशालामा पठाइसकिएको बताए । ‘यो कुराले परिवारलाई बढी पीडा दिन्छ । परिवारका मान्छेलाई हरेक दिन शवको पीडा थपिरहन्छ,’ उनले भने, ‘अनुसन्धान तीव्र गतिमा भइरहेकाले शव बुझ्न आग्रह गरेको छु ।’

    उनले शव अस्पतालमा राखेर मात्रै होइन, हत्यारा पत्ता लगाउन प्रहरी र प्रशासन आफैं दबाबमा रहेकाले अनुसन्धानको कुनै कसर बाँकी नराख्ने बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ३० २०७७०७:४५:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend