बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

भागरथी हत्या अनुसन्धानमा यी ३ टोली, के छ नतिजा ?

भागरथी हत्या अनुसन्धानमा यी ३ टोली, के छ नतिजा ?

  • मिडिया डबली
  • शनिवार, फाल्गुण १ २०७७

  • 5.3K
    SHARES

  • भागरथी हत्या अनुसन्धानमा यी ३ टोली, के छ नतिजा ?

    काठमाडौं – बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा अझै पत्ता लागेको छैन ।

    माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा बेपत्ता भएकी भागरथीको शव २२ गते लवलेक सामुदायिक वनमा फेला परेको थियो ।

    भागरथीको शवको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख गरिएको छ ।

    भागरथीको हत्या भएलगत्तै घटनाको अनुसन्धानमा जुटेको प्रहरीलाई हत्यारा पत्ता लगाउन सकस भएको छ । नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डे नेतृत्वको टोली सुरूदेखि नै घटनाको अनुसन्धानमा रहेको छ भने माघ २५ गतेपछि डीआईजी उत्तमराज सुवेदी नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताएका छन् ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपीको नेतृत्वमा पनि अनुसन्धान टोली खटिएको छ । डीआईजी सुवेदीले अनुसन्धान टोलीलाई आवश्यक निर्देशन दिने, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग बेला–बेलामा भेटेर घटनाबारे जानकारी लिने गरेका छन् । उनी अहिले बैतडीमै छन् । खोचलेक प्रहरी चौकीमा बसेर उनले घटनाको अनुसन्धान गर्दै आएका छन् ।

    शव फेला परेको ९ दिनसम्म पनि दोषी पहिचान नहुँदा पीडित पक्षले न्याय नपाउने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । न्यायका लागि विद्यार्थी सडकमा उत्रिएका छन् ।

    बैतडीसहित विभिन्न जिल्लामा दैनिकजसो भइरहेका प्रदर्शनमा सहभागी विद्यार्थीको एउटै माग छ –भागरथीलाई न्याय देऊ ! 

    निर्मला हत्या प्रकरणमा जस्तो अहिले नागरिक समाज, महिला अधिकारकर्मी र राजनीतिकर्मी सडकमा नदेखिए पनि विद्यार्थीले छानबिन गर्ने सम्वद्ध निकायको ध्यानाकर्षण गराउन दवावमूलक कार्यक्रम आयोजना गरिरहेका छन् । दवावमूलक कार्यक्रममा राजनीतिक दलका विद्यार्थी संगठन र युवा संगठन भने देखिएका छन् ।

    प्रहरीले घटनाको अनुसन्धानमा सबै संयन्त्र प्रयोग गर्दा समेत दोषी पहिचान हुन नसकेको अधिकारकर्मी देवु ठगुन्नाले बताइन् । प्रहरीले दोषी पत्ता नलगाउँदा स्थानीय दोषी उम्किने र पीडितले न्याय नपाउने हुन् कि भनेर संशकित भएको उनले बताइन् ।

    प्रहरीले भने अनुसन्धान जारी रहेको र दोषी चाँडै पत्ता लाग्ने बताउँदै आएको छ । घटनाका दोषी पत्ता लगाउन अनुसन्धान भइरहेको बैतडी जिल्ला प्रहरी प्रमुख डीएसपी अधिकारीले बताए । ‘हामी अहिले पनि अनुसन्धानमै छौं,’ अधिकारीले भने, ‘दोषी छिटोभन्दा छिटो पत्ता लाग्छ ।’ घटनासँग जोडिएका विभिन्न पक्षलाई केलाएर अनुसन्धान भइरहेको उनले बताए ।

    सुदूरपश्चिम प्रदेशका प्रवक्ता मुकेश सिंहले घटनास्थलबाट संकलन भएका तथ्य र प्रमाण जाँचपछि हत्यारा पत्ता लाग्ने बताए । उनका अनुसार घटनास्थलबाट संकलन भएको रगत, मोबाइल लगायत तथ्य संकलन गरी नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा जाँचका लागि पठाइएको छ ।

    ‘केही व्यक्तिलाई हामीले शंकाको घेरामा राखेका छौं,’ सिंहले भने, ‘संकलित तथ्य र प्रमाण जाँच रिपोर्टका आधारमा छिट्टै अपराधी पत्ता लाग्छ ।’ भागरथीको बलात्कार र हत्या १ जनाले गरेको हो वा समूहले भन्ने पनि अझै खुल्न सकेको छैन ।

    हालसम्म भागरथीका हत्यारा पत्ता नलाग्नुले घटना योजनाबद्ध हुनसक्ने स्थानीयको अनुमान छ । प्रहरी भने बलात्कार र हत्या आकस्मिक थियो वा योजनाबद्ध भन्ने कुरामा यकिन हुन सकेको छैन । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा दर्जनौं मानिसमाथि अनुसन्धान गरिसकेकाले केही व्यक्तिमाथि सूक्ष्म अनुसन्धान गरी प्रमाण भिडाउने काम भइरहेको जानकारी दिएको छ ।

    भागरथीको बलात्कार र हत्यापछि उनले पढ्ने गरेको सनातन धर्म माविका विद्यार्थी त्रासमा छन् । आफ्नै सहपाठीको विद्यालयबाट घर फर्कर्ने क्रममा बलात्कार र हत्या भएपछि विद्यार्थी त्रसित बनेका हुन् । १२ कक्षामा पढिरहेकी भागरथी विद्यालयमा असल छात्राका रूपमा चिनिन्थिन् ।

    घटनाको १ हप्तापछि विद्यालय खुले पनि विद्यार्थी त्रसित भएको प्रधानाध्यापक बलदेव नाथले बताए । ‘विद्यार्थीले राम्रोसँग पढ्न र हामीले पनि राम्ररी पढाउन सकिरहेका छैनौं । सबै चिन्तित छौं,’ नाथले भने ।

    मिल्ने साथी गुमाउनु पर्दा बेचैन भएको भागरथीकी साथी रेखा भट्टले बताइन् । ‘सँगै पढ्ने साथी आँखामा झलझली आइरहन्छे,’ रेखाले भनिन्, ‘त्यो घटनादेखि विद्यालयका सबै विद्यार्थी त्रासमा छौं ।’ घटनापछि विद्यालय आउजाउ गर्न पनि डर लागेको विद्यार्थी बताउँछन् । घटनापछि विद्यार्थी मात्र होइन, अभिभावक पनि डराएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ ३० २०७७०७:४५:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend