दोलखा - नेपाली कांग्रेस दोलखाका प्रतिनिधि सभा सदस्य उम्मेदवार अजयबाबु शिवाकोटीले विचार, नीति र नेतृत्वका आधारमा नेपाली कांग्रेस नै देशको वास्तविक 'नयाँ' पार्टी भएको दाबी गरेका छन् ।
चुनावी अभियानका क्रममा दोलखाको विगु गाउँपालिका पुगेका शिवाकोटीले पछिल्लो राजनीतिक बहस र परिवर्तनको सन्दर्भमा यस्तो धारणा राखेका हुन् । विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चयन गरेको उल्लेख गर्दै उनले अहिले पार्टी गगन थापाको ऊर्जाशील नेतृत्वमा देशभर चुनावी अभियानमा होमिएको बताए ।
शिवाकोटीले परिवर्तनको लहरलाई आत्मसात् गर्दै कांग्रेसले यस पटक ७८ प्रतिशत नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको जानकारी दिँदै आफूहरू नयाँ सोचका साथ जनताको घरदैलोमा आइपुगेको स्पष्ट पारे ।
पछिल्लो समय युवा पुस्ता (जेन-जी) को आन्दोलनपछि राजनीतिमा नयाँ र पुरानो शक्तिको बहस चलेकोतर्फ सङ्केत गर्दै उनले भने, “विचार, नीति, नेतृत्व र उम्मेदवारको कसीमा घोटेर हेर्ने हो भने नेपाली कांग्रेस मात्रै नयाँ पार्टी हो । बाहिरबाट हेर्दा एमाले, नेकपा माओवादी वा रास्वपामा देखिएका अनुहारहरूमात्र नयाँ हुन्, तर पार्टीको पद्धति र उम्मेदवारको विविधताका हिसाबले कांग्रेसले मात्रै आमूल परिवर्तनको बाटो समातेको छ ।”
शिवाकोटीले अन्य दलहरूले 'नयाँ' को नारा दिए पनि वास्तविक परिवर्तन र नयाँपनको प्रतिनिधित्व कांग्रेसले नै गरेको दाबी गरे । उनले दोलखाको विकास र समृद्धिका लागि कांग्रेसको यो नयाँ टिमलाई विश्वास गर्न मतदाताहरूलाई आग्रहसमेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।