काठमाडौं - बहालवाला सभामुख र सञ्चारमन्त्रीको न्युज ब्रेक गरेर हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीले नेपालको पत्रकारितामा नयाँ मानक स्थापित गरे । त्यो पनि लगातार ब्रेक गरेर ।
हाम्राकुरामा आएका समाचारकै कारण सभामुख कृष्णबहादुर महराको पद गयो । उनी जेलमा परे । राज्यशक्ति प्रयोग गरेर सफाइ पाउन महरा सफल भए पनि त्यो कलंकको टीका अब कसैगरी पखालिने छैन । उनको झन्डै सांसद पदसमेत गुमेको थियो ।
महरामाथि संसद् सचिवालयकी एक महिलाले जबर्जस्तीकरणीको आरोप लगाएकी थिइन् । यस्तै, प्रधानमन्त्री केपी ओलीका प्रियपात्र गोकुल बास्कोटाको ७० करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक गरेर पत्रकार शिवाकोटीले उनको पद नै खाइदिए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस टेन्डर आह्वानमा मन्त्री बास्कोटाले एजेन्ट विजय मिश्रसँग ७० करोड डिल गरेका थिए । बास्कोटालाई जोगाउन प्रधानमन्त्री ओली नै लागेका छन् । आफूले लेखेका समाचारका कारण राज्यको पाँचौं वरीयता र सञ्चारमन्त्रीकै पद खुस्काइदिएकाले पनि पत्रकार शिवाकोटीको चर्चा चुलिएको हो ।
उनी नेपाल प्रेस युनियनको महासचिव पनि हुन् । सधैं श्रमजीवी पत्रकारको हकहितमा लड्दै आएका शिवाकोटीलाई हालै सम्पन्न पत्रकार महासंघको निर्वाचनमा अर्को सफलता हात लागेको छ । त्यो हो आफ्नै गृहजिल्ला दोलखामा प्रेस युनियनको वर्चश्व कायम गर्नु ।
दोलखा सञ्चारमन्त्री पार्वत गुरुङको गृहजिल्ला पनि हो । सञ्चारमन्त्रीको जिल्लामै उनको पार्टी निकट प्रेस चौतारीका उम्मेदवारलाई हराएर प्रेस युनियनको उम्मेदवार विजयी गराएपछि शिवाकोटी अझ लोकप्रिय बनेका छन् ।
यसको जस शिवाकोटीलाई दिइएको छ । पत्रकार महासंघ दोलखा शाखाको अध्यक्षमा प्रेस युनियनका दिपशंकर चौलागाईं विजयी भएका छन् । यी सबै सफलता पाएका शिवाकोटी अब नेपाल प्रेस युनियनको अध्यक्ष बन्ने अभियानमा लागेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।