काठमाडौं - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने, वार्षिक प्रतिवेदन पेस गर्ने तथा एउटा विधेयक पारित गर्नेलगायतका कार्यसूची रहेका छन्।
बैठकमा प्रधानमन्त्री वालेन्द्र साहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पेस गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, मन्त्री गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३ र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछिन्।
यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले फोहरमैला व्यवस्थापन विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि सम्बन्धित ऐन संशोधनसम्बन्धी विधेयकलाई समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चारवटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ।
उनले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ लाई सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछिन्।
बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिबाट प्रतिवेदन पेस भइसकेको संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ पारित गर्ने कार्यसूची पनि रहेको छ। उक्त विधेयक सर्वसम्मत रूपमा पारित हुने सम्भावना रहेको छ।
यसका साथै सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सदनसमक्ष पढेर सुनाउनेछन्। लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सांसदहरूको अनुपस्थितिसम्बन्धी सूचना पनि स्वीकृतिका लागि सभासमक्ष पेस गर्ने कार्यक्रम रहेको छ।
शुक्रबारको बैठकसँगै सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य हुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिसकेका छन्।
अधिवेशन अन्त्यसँगै संसद्मा विचाराधीन रहेका विधेयक तथा अन्य संसदीय कामकारबाहीको प्रक्रिया आगामी अधिवेशनमा तय हुने कार्यसूचीअनुसार अघि बढ्नेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।