काठमाडौं - सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार दिउँसो १ः१५ बजे बस्दैछ। संसद् भवनमा बस्ने बैठकमा विभिन्न विधेयकमाथि छलफल, प्रतिनिधिसभाबाट आएका संशोधनमा सहमति जनाउने तथा विधेयक निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ।
बैठकमा प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि प्रतिनिधिसभाले गरेको संशोधनमा सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ।
प्रतिनिधिसभाले असोज १४ गते सम्बन्धित समितिको प्रतिवेदनका आधारमा विधेयकमा परिमार्जन गर्दै पारित गरेर राष्ट्रिय सभामा फिर्ता पठाएको थियो। राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट गरिएको संशोधनमा सहमति जनाएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउने बाटो खुल्नेछ।
यसैगरी, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट परिमार्जनसहित पारित भइसकेको आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ लाई सभाबाट अन्तिम रूपमा पारित गर्ने कार्यसूची रहेको छ।
बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक तथा लिखित प्रश्नका उत्तरसमेत सम्बन्धित मन्त्रीहरूले टेबुल गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
शुक्रबारको बैठकसँगै सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य हुनेछ। प्रतिनिधिसभा र राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएसँगै यस अधिवेशनअन्तर्गतका संसदीय कामकारबाही पनि औपचारिक रूपमा टुंगिनेछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।