काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका कांग्रेस नेता अजयबाबु शिवाकोटीको चर्चा चुलिए छ।
लोकतन्त्र र सुशासन स्थापनार्थ लामो समयदेखि पत्रकारिता एवं विभिन्न अभियानहरूमा सक्रिय शिवाकोटीले नेपाली कांग्रेसको मूलधारको राजनीतिमा होमिएका छन्।
पछिल्लो समय पत्रकारितामा रहँदा केपी ओलीको सरकारका सञ्चार मन्त्री गोकुल बास्कोटाको ७० करोड कमिसन बार्गेनिङको अडियो सार्वजनिक गरेर सनसनी मच्चाएका शिवाकोटीले पूर्व सभामुखको यौन काण्ड पनि सार्वजनिक गरेका थिए।
करिब दुई तिहाइ बहुमतको केपी ओली सरकारको समयमा ओलीका अत्यन्तै नजिकका र विश्वास पात्र गोकुल बास्कोटाको ठुलो रकमको बार्गेनिङ गरेको अडियो सार्वजनिक गर्नु नै साहसिक कार्यका रूपमा हेरिएको थियो।
ओली सरकारको दम्भ र अहङ्कार उचाइमा पुगेको समयमा पूर्व प्रम ओलीको विश्वास पात्रलाई नङ्ग्याउनु पत्रकारिता जगतमा एक बिम्ब बनेर बसेको छ ।
उक्त अडियो गलत भएको भए उक्त समयमा शिवाकोटीको स्थिति के हुनेथ्यो भन्ने अहिले कल्पना पनि गर्न सकिन्न। ओली कै दम्भका करण जनताले विश्वास गरेर दिएको करिब दुई तिहाइ मत पाएको पार्टी तीन टुक्रा हुन पुगेको छ।
त्यसैगरि तत्कालीन सभामुख कृष्णबहादुर महराको यौन काण्ड पनि सार्वजनिक गरेका शिवाकोटीको उक्त रिपोर्टिङ पनि अविस्मरणीय रहेको छ। विश्वभरका मिडियाहरूमा उनको साहसिक पत्रकारिताको प्रशंसा भएको थियो।
महरा तत्कालीन नेकपा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालका विश्वास पात्र मानिन्थे र रहेका छन्। नेपालको राजनीतिक इतिहासमा सबैभन्दा शक्तिशाली निर्वाचित सरकार बनाएको तत्कालीन नेकपाको सरकारका प्रधानमन्त्री केपी ओलीले अब ५० वर्ष शासन गर्ने सार्वजनिक रूपमा बोल्ने गरेका थिए। नेपालमा बिस्तारै कम्युनिष्ट शासनको झझल्को आउन थालेको थियो।
सरकारले आन्दोलन गर्ने ठाउँहरू तोक्ने, सामाजिक सञ्जाल र मिडियालाई नियन्त्रण गर्ने कानुन लगायतका कार्यहरू जनताको बोल्ने अधिकार कुण्ठित पार्ने कार्यका रूपमा सम्झना गरिन्छ।
कम्युनिष्ट मोडलमा जाने योजनाका साथ चिनिया कम्युनिष्ट पार्टीले नेकपालाई तालिम पनि दिएको थियो। चिनियाँ कम्युनिष्ट शासनमा जाने अभ्यास थालेको नेकपालाई लोकतन्त्र सम्झाउन पनि शिवाकोटीले सार्वजनिक गरेको '७० करोड' प्रकरण र सभामुखको 'यौन काण्ड' कोसे ढुङ्गाका रूपमा रहेका छन्।
तत्कालीन सभामुख कृष्ण बहादुर महरामाथि लागेको बलात्कारको आरोपमा केपी ओलीले सभामुखले राजीनामा दिनुपर्छ भनेर प्रचण्डलाई दबाब दिएका थिए। त्यसैकारण महराले राजीनामा दिएका थिए।
त्यसैगरि तत्कालीन सञ्चार मन्त्री बास्कोटाको ७० करोड प्रकरणमा प्रचण्डको अडानका करण बास्कोटालाई राजीनामा दिलाउन ओली बाध्य भएका थिए।
यही दुई प्रकरणले नेकपामा फाटो सुरु भएको राजनीतिक विश्लेषकहरूको बुझाइ रहेको छ। कम्युनिष्ट राज्य बनाउने तत्कालीन नेकपाको उद्देश्यले यही दुई प्रकरणका कारण तुहिएको थियो।
पछिल्लो समय नेपालमा लोकतन्त्रलाई बचाउन यी दुई प्रकरण प्रमुख कारकका रूपमा रहेको विश्लेषकहरूको बुझाइ रहेको छ। यही दुई प्रकरणबाट नेकपामा सुरु भएको मनमुटाबले कालान्तरमा पार्टी फुटसम्म पुगेको छ।
दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा फुट्ने बेलामा तीन टुक्रा भएको छ। यही परिस्थितिमा नेपालको लोकतन्त्रलाई बचाउन र सुदृढ बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको छ। नेपालमा लोकतन्त्र र बहुलवादको पर्यायवाचीका रूपमा नेपाली कांग्रेस रहेको छ।
सरकारमा रहेको कांग्रेसमाथि जनताको विश्वास र भरोसा बढेको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि बन्ने नयाँ कांग्रेसले झन् ऊर्जाका साथ लोकतन्त्र र बहुलवादको संरक्षण गर्ने विश्वास गर्न सकिन्छ ।
शिवाकोटी दोलखा जिल्लाबाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन । उनले दुई दशक भन्दा बढी समय सक्रिय पत्रकारितामा बिताएका छन् ।
उनी २०६२/०६३ को जनआन्दोलनका क्रममा आन्दोलनको दृश्य सबैभन्दा पहिले कैद गर्न पुग्ने पत्रकारका रूपमा पनि चिनिन्छन् । शिवाकोटीले संविधानसभाको समयमा संविधान निर्माणका लागि विभिन्न अभियानहरू पनि सञ्चालन गरेका थिए।
उनले संविधान सभालाई संविधान निर्माणका लागि दबाब दिन धेरै अभियानहरू सञ्चालन गरेका थिए। विद्यार्थीकालदेखि लोकतन्त्र र बहुलवाद प्रति शिवाकोटीको लगाव अविच्छिन्न रहेको छ।
कांग्रेसको मूलधारको राजनीतिमा युवापुस्ताको माग बढिरहेको समयमा अजयबाबु शिवाकोटी जस्ता मानिसहरू आउनु नेपालको लोकतन्त्रका लागि शुभ सङ्केतका रूपमा लिन सकिन्छ । कांग्रेसको महाधिवेशन प्रतिनिधिहरूमा युवाहरू निर्वाचित हुने क्रम बढेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।