काठमाडौं । मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा ११ पर्यटकको मृत्यु भएको छ। २०८१ को वैशाखदेखि हालसम्म नौ विदेशी तथा दुई नेपाली पर्यटकको लेक लागेर मृत्यु भएको हो।
मुक्तिनाथ मन्दिर दर्शन तथा मुस्ताङ भ्रमणका क्रममा सबैभन्दा बढी भारतीय पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए।
मुस्ताङ आउनेमध्ये पाँच जनाको वारागुङ मुक्तिक्षेत्र–१ मुक्तिनाथमा, पाँच जनाको घरपझोङ–४ जोमसोममा र एक जनाको थासाङ गाउँपालिका–२ मा लेक लागेर मृत्यु भएको उहाँले बताए।
लेक लागेर मृत्यु हुनेमा ५८ वर्षदेखि ८१ वर्ष उमेर समूहका पर्यटक रहेका छन्। विसं २०८० मा १७ जनाले लेक लागेर ज्यान गुमाएका थिए। प्रदेश स्वास्थ्य कार्यालय, घरपझोङ र थासाङ गाउँपालिकाले पनि लेक लाग्ने समस्यासम्बन्धी वाल पेन्टिङ तथा भित्ते लेखन कार्यक्रम गरी मुस्ताङ भित्रने पर्यटकलाई सचेत गर्दै आएको छ।
विशेषतः समुद्री सतहबाट तीन हजार आठ सय मिटरको उचाइदेखि लेक लाग्न थाल्छ।
ज्येष्ठ नागरिक, शारीरिक रूपमा अशक्त र दीर्घरोगका औषधि सेवन गर्ने पर्यटकलाई लेक लाग्ने गरेको पाइएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज भुवन क्षेत्रीले जानकारी दिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।