काठमाडौं - परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा वेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिती पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन् ।
आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तराष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले वेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेका हुन् ।
कुराकानीका क्रममा साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपीन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने बताए ।
‘विपीनसहितका नेपाली विद्यार्थीहरू बंकरमा लुकेर बसेको बेलामा आक्रमणकारीले छोटो समयमा पटकपटक आक्रमण गरेको देखिन्छ । पहिले गोली चलाएको र त्यसपछि ग्रिनेट फालेको देखिन्छ,’ उनले भने, ‘ प्रत्यक्षदर्शी विद्यार्थीले भनेअनुसार दुईवटा ग्रिनेट फाल्दा एउटा नपड्किँदै विपीनजीले एउटा ग्रिनेट बाहिर फ्याँकेको देखिन्छ ।’
प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपीनलाई पनि अपहरण गरेको लगेको उनले बताए । ‘त्यसदेखि नै उनी अज्ञात अवस्थामा छन्, उनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन,’ साउदले भने । इजरायल सरकारले जोशीको स्थिति के हो भन्ने विषयमा पत्ता लगाउन प्रतिबद्धता जनाएको साउदले बताए ।
‘उहाँको स्थिति पत्ता लगाइदिनका लागि हामीले इजरायल सरकारसँग आग्रह गरेका छौं । इजरायल सरकारले पनि उहाँको स्थिति के हो भन्ने विषयमा पत्ता लगाउन प्रतिबद्धता जनाएको छ,’ उनले भने, ‘तपाई (अन्तर्राष्ट्रिय सञ्चारमाध्यम) हरूमार्फत अन्तर्राष्ट्रिय संघसंस्था, विभिन्न कूटनीतिक मिसनहरूसँग पनि उहाँको स्थिति पत्ता लगाइदिनका लागि अनुरोध गर्न चाहन्छु ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।