काठमाडौं - सुन तस्कर समूहले दोलखालाई सुन तस्करीको नयाँ बाटो बनाएको भेटिएको छ ।
प्रहरीले बुधबार राति चार केजी सुनसहित तीनजनालाई पक्राउ गरेपछि यो तथ्य खुलेको हो ।
दोलखाको विगु गाउँपालिकास्थित जामुनेबाट चार केजी सुनसहित तीनजनालाई पक्राउ गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपक खड्काले जानकारी दिए ।
बरामद सुन लप्ची नाकाबाट भित्रिएको आशंका गरिएको छ । पक्राउ परेको तीनमध्ये दुईजनाले सुन बोकेको र एकजना सँगै थिए ।
तीनैजना विगु–१ लामाबगर क्षेत्रको रहेको प्रहरीले जनाएको छ । चीन सरकारले आइतवारमात्र तिब्बतसँग जोडिएको दोलखाको दुईवटा नाका खुला गरेको थियो ।
बरामद पहेंलो धातु परीक्षणको क्रममा रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिने तयारी गरेको छ ।
स्रोतका अनुसार ११ किलो सुन बरामद भएकोमा प्रहरीले चार किलोको मात्र जानकारी गराएको छ । सात किलोबारे केही भनिएको छैन । यसअघि धादिङमा सुन बरामद भएको २४ घन्टामै पित्तलमा परिणत भएको थियो ।
दोलखाबाट बरामद सुनलाई पित्तल बनाउने तयारी भएको बुझिएको छ । तस्कर समूहले ११ किलो सुन ल्याएको खबर गरेका थिए । तर प्रहरीले चार किलो मात्र बरामद भएको जानकारी दिनुले ठूलै घोप्लाबाजी भएको अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।