काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले उत्तर र दक्षिणका दुई छिमेकी मुलुकहरू आर्थिक विकासमा अग्रसर भइरहेको बेला राज्यका निकाय तथा संस्था खस्कँदो अवस्थामा गइरहेको बताएका छन् ।
शुक्रबार केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठकमा बोल्दै शिवाकोटीले नेतृत्व प्रतिको आशा निराशामा परिवर्तन भएको बताएका हुन् । उनले देशको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशीनेको भिड दिन दिनै देख्दा आँखा रसाउने गरेको बताए ।
उनले यसरी पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि 'नेतृत्व तहको अग्रजहरूलाई देश त हामीले बनाएकै रहेछौ नि भन्ने लाग्दैन ?' भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन् ।
उनले कार्यसमितिको बैठकमा भनेका छन् , 'उत्तर र दक्षिणका दुई छिमेकी मुलुकहरू आर्थिक विकासमा अग्रसर भइरहेको बेला हामी जुन मनोविज्ञानका साथ अघि बढेका छौ । आज हरेक राज्यका निकाय तथा संस्था खस्कँदो अवस्थामा छ । नेतृत्व प्रतिको आशा निराशामा परिवर्तन भएको छ । आज हरेका नागरिक आफ्ना छोराछोरी कहिले १२ कक्षा पास गर्लान् र विदेश पढाउला भनेर सपना मात्र देखेका छैनन्, आफूलाई दाउमा पनि राखेका छन् । विद्यार्थी विदेशमा, शिक्षक सडकमा, मजदुरी गर्ने मलेसिया र मध्य पूर्वका खाडी राष्ट्रहरूमा गएको भीड देख्दा हरेक दिन आँखाहरु रसाएका छन् । विमानस्थलको भीड दिनदिनै देख्दा पछिल्लो ३० वर्ष पटक पटक अवसर पाएर पनि तपाई नेतृत्व तहको अग्रजहरूलाई देश त हामीले बनाएकै रहेछौँ नि भन्ने लाग्दैन ?'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।