काठमाडौं - प्रमुख दलहरुले संसदीय समिति सभापतिको भागबन्डा टुंगो लगाएका छन् ।
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकहरुले आइतबार संसदीय समितिको भागबन्डा मिलाएका हुन् ।
दलहरुबीच भएको सहमतिअनुसार सत्ता साझेदार नेपाली कांग्रेसले सबैभन्दा धेरै चारवटा समितिको सभापति पाउने भएको छ ।
संसदको ठूलो दल कांग्रेसले अर्थ, संसदीय सुनुवाइ, राज्यव्यवस्था र कृषि समितिको सभापति पाउने भएको छ । प्रमुख प्रतिपक्षी एमालेले लेखा, महिला र राज्यका निर्देशक सिद्धान्तसहित तीनवटा समिति सभापति पाउने सहमति भएको छ ।
संसदको तेस्रो ठूलो दल माओवादीले कानुन, न्याय तथा मानव अधिकार र पूर्वाधार विकास समितिको नेतृत्व पाउने भएको छ । सत्ता साझेदार दल जसपा, एकीकृत समाजवादी र जनमतले एक–एक समिति पाउने भएका छन् ।
जसपाको भागमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, एकीकृत समाजवादीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र जनमत पार्टीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति पाउने भएको छ ।
सत्ता बाहिर रहेका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भने कुनै पनि समितिको नेतृत्व दिइएको छैन । संसदमा जसपा, एकीकृत समाजवादी र जनमतभन्दा धेरै सांसद रहेका रास्वपा र राप्रपालाई भने संसदीय समितिको सभापति दिइएन ।
एमालेले पनि रास्वपा र राप्रपालाई संसदीय समिति दिने विषयमा वास्तै गरेन । अहिले बसिरहेको प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठकले सो सहमतिलाई अन्तिम रुप दिने बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।