काठमाडौं- निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचनको मिति तोकेको छ । जसकारण निर्वाचन आउन अझै ३५ दिन बाँकी छ । फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । राष्ट्रपति कुन पार्टीबाट निर्वाचित हुने भन्ने कौतूहल बढेको छ ।
सत्तागठबन्धनमा राष्ट्रपति एमालेको भागमा परेको छ । तर, माओवादी केन्द्रले एमालेबाट हार्डकोर राष्ट्रपति बनोस् भन्ने देखिएको छैन । त्यसैले अहिले माओवादीमा राष्ट्रपतिको निर्वाचनलाई लिएर दुई धार देखिएको छ ।
राष्ट्रपति निर्वाचनलाई लिएर सबैभन्दा संकटमा राप्रपा परेको छ । राजसंस्था, हिन्दूराष्ट्र र संघीयता खारेजीको मागसहित निर्वाचनमा गएको राप्रपाले संसदमै राजतन्त्र फर्काउने उदघोष गरिसकेको छ । त्यसैले राष्ट्रपति निर्वाचनमा राप्रपाले भाग लिन नहुने आवाज प्रबल बन्दै गएको छ । राप्रपासँग प्रतिनिधिसभा र प्रदेशसभा सदस्य छन् । उसको करिब २५ सय मतभार छ । एमालेले माओवादी, राप्रपा, रास्वपाको मतले राष्ट्रपतिमा विजयी हुने अपेक्षा गरेको छ । तर, पार्टीले लिएको नीतिका कारण राप्रपा धर्मसंकटमा परेको छ ।
गणतन्त्र र संघीय व्यवस्था बलियो बनाउन सहीछाप गरेर राजेन्द्र लिङ्देन मन्त्री खान गएपछि राप्रपाभित्र उकुसमुकुस र असन्तुष्टि चुलिएको छ । पार्टीको साख बचाउन राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्छ भन्ने जनमत राप्रपामा निर्माण हुन थालेको छ । राष्ट्रपति निर्वाचनमा राप्रपा कतै लाग्न हुन्न, तटस्थ बस्नुपर्छ भन्ने माग र जनमत देशव्यापी तयार भएको नेताहरु बताउँछन् । तर, पार्टी अध्यक्ष लिङ्देन एमाले अध्यक्ष केपी ओलीको इसारामा चल्ने भएकाले राष्ट्रपतिको निर्वाचनमा पार्टी लाइनविपरीत राप्रपाले भोट हाल्ने सम्भावना पनि प्रबल छ ।
मूलतः अध्यक्ष लिङ्देनले घोषणापत्रमा लेखाउनेबाहेक राजसंस्था, हिन्दूराष्ट्र र संघीयता खारेजीको उच्चारण नै गर्न बिर्सिएको आरोप लाग्दै आएको छ । मन्त्री बनाउने विषयले पनि राप्रपामा असन्तुष्टि चुलिएको छ । नवनियुक्त मन्त्रीहरूलाई स्वागत गर्ने कार्यक्रममा सम्मानित नेताहरू कोही पनि उपस्थित थिएनन् । लोकेन्द्रबहादुर चन्द, पशुपतिसमशेर राणा, प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बुद्धिमान तामाङ, धवलसमशेर राणा, जयन्त चन्द, अर्जुन राई, विक्रम थापा, रामकुमार सुब्बालगायत कोही गएनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।