काठमाडौं - नेपाली कांग्रेस देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी हो ।
कांग्रेसले वाक स्वतन्त्रताका लागि यत्रो लामो समय लड्दै आएको छ । तर अहिले यही कांग्रेसमा अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाउन थालिएको छ ।
कांग्रेसको प्रचार विभागको पहिलो बैठकले नै नीति र नेतृत्वको विषयमा सार्वजनिक अभिव्यक्ति रोक्ने निर्णय गरेपछि नेताहरू आक्रोशित भएका छन् ।
सोमबार बसेको प्रचार विभागको पहिलो बैठकले नीति र नेतृत्वको विरोधमा सार्वजनिक अभिव्यक्ति नदिन केन्द्रदेखि तल्लो तहसम्म अनुरोध गर्ने भन्दै गरेको निर्णयलाई लिएर कांग्रेसमा असन्तुष्टि देखिएको हो ।
प्रचार विभाग प्रमुखमा पार्टी सभापति शेरबहादुर देउवा निकट नेता मीन विश्वकर्मा छन् । पार्टी सभापति देउवाको कार्यशैलीलाई लिएर महामन्त्रीदेखि केन्द्रीय सदस्यहरूले निरन्तर आलोचना गर्न थालेपछि त्यसलाई रोक्न प्रचार विभागले यस्तो निर्णय गरेको नेताहरु बताउँछन् ।
‘पार्टीको नीति र नेतृत्वको सार्वजनिक स्थलमै विरोध गर्ने अभिव्यक्ति नदिन पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरूलाई अनुरोध गर्ने,’ बैठकको निर्णयमा भनिएको छ ।
विभागको यो निर्णयलाई भने इतर समूहले शंकाको नजरले हेरेको छ । इतर समूहका नेता तथा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य, गुरुराज घिमिरेलगायतले पार्टीमा अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्न खोजिएको भन्दै आपत्ति जनाए का छन् ।
यसले जीवन्त पार्टीमा यस्तो निर्णय कार्यान्वयन हुन नसक्ने उनीहरूको भनाइ छ । आफूलाई चित्त नबुझेका विषयमा टिप्पणी गर्न पाउनु लोकतान्त्रिक पार्टीको मौलिक चरित्र हो ।
कांग्रेसमा यस्तो प्रचलन पहिलेदेखि नै चलिआएको छ । नेतृत्वको आलोचना गरेर सुधार ल्याउने काम हुँदै आएको छ । तर अहिले एकाएक नीति र नेतृत्वको आलोचना नगर्न उर्दी किन जारी गरियो भन्ने विषयमा नेताहरु नै आश्चर्यमा परेका छन् । व्यक्तिगत स्वतन्त्रतामा अंकुश लगाउन आवश्यक नरहेको भन्दै यसले पार्टीलाई निरंकुश बनाउने उनीहरूको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।