काठमाडौं - नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले तीन महिनापछि प्रतिनिधिसभामा सम्बोधन गरेका छन् ।
फागुनमा ग्यास लिक भएर घाइते भएपछि उपचार गरेर स्वास्थ्य लाभ गरिरहेका उनले बुधबार संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका हुन् ।
सांसद भण्डारीले आफ्नो उपचारमा सहयोग गरेकोमा सम्मान व्यक्त गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग गर्न आग्रह गरेका छन् ।
गत फागुन ३ भएको एलपी ग्यास विस्फोटबाट भएको आगलागीमा परेर भारतमा उपचार गरेका भण्डारीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् भनेका छन् ।
‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा सात दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस्,’ उनले भने ।
आफूले व्यहोरेका घटनाबाट गत वर्ष ११० जनाले मृत्युवरण गरेका र अहिलेको वर्षमा आफ्नी आमा थपिँदा १११ जना पुगेको बताउँदै उनले गाउँगाउँमा पुगेको विजुली र ग्याँस प्रयोगबारे पाठ्यपुस्तकमा राख्नुपर्ने बताए ।
उनले सांसदहरू, सरकार, चिकित्सक सबैलाई धन्यवाद दिए । भण्डारी रोस्ट्रममा पुगेर सम्बोधन गर्दा सम्पूर्ण सांसद भावुक बनेका थिए ।
तीन महिनापछि संसदमा पुगेका भण्डारीसँग भेटघाट गर्न सभामुख देवराज घिमिरेको चेम्बरमा विशेष व्यवस्था मिलाइएको थियो ।
सबै सांसदहरूले भण्डारीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए । एमाले अध्यक्ष केपी ओलीले भण्डारी स्वास्थ्यलाभ गरेर फर्केकामा खुसी लागेको बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।