काठमाडौं– कुनै समय नेपालको राजनीतिमा वामदेव गौतमको दबदबा थियो । एमालेमा लामो समय राजनीति गरेका उनी अहिले झन्डै गुमनाम जस्तै छन् । अहिले पनि उनी राष्ट्रियसभा सदस्य छन् । तर जुन पार्टीबाट सांसद बनेका थिए, त्यो पार्टी उनले छाडिसकेका छन् । उनले एमाले छाडेको एक वर्ष भइसक्यो । पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीकै कारण आफूले एमाले छाडेको उनको गुनासो थियो ।
आफूभन्दा पछि राजनीतिमा प्रवेश गरेका नेताहरुको हालीमुहाली चलिरहेका बेला वामदेव भने अहिले दर्शनशास्त्र पढेर बसेको बताउँछन् । सहकर्मी केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सत्ता दाउपेचको दौडधुपमा व्यस्त भइरहेका बेला नेता वामदेव भने बढीजसो समय ललितपुरको भैंसेपाटी निवासमै हुन्छन् । सत्तामा हुँदा होस् कि बाहिर, सधैं चर्चामा आइरहने उनी नेकपा विभाजनपछि मूलधार राजनीतिबाट ओझेल पर्दै गएका हुन् । नेकपा एकता राष्ट्रिय अभियान गठन गरे पनि पछिल्लो समय नेपालको राजनीतिमा उनको कुनै भूमिका देखिँदैन ।
कहिलेकाहीँ सांसद र अरू बेला सहयोद्धासँग आक्कलझुक्कल भेट भए पनि गम्भीर राजनीतिक विषयमा कुरा हुन छाडिसकेको गौतमको भनाइ छ । नेताहरूले आफ्नो कुरा मान्नै छाडिसकेको उनको गुनासो छ । आगामी दिनमा के गर्ने भन्ने दिमागमा केही नभएको उनी बताउँछन् ।
२०५३ मा बनेको राप्रपाका तत्कालीन वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री भएका बेला प्रहरीमा अस्वाभाविक हस्तक्षेप गरेपछि वामदेव विवादमा आएका थिए । उनी प्रचण्ड सरकारमा २०६५ र तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको मन्त्रिपरिषद् २०७० मा पनि उपप्रधान तथा गृहमन्त्री भएका थिए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दिया–१ बाट पराजित भए पनि गौतमले प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा प्रकट गर्न छाडेका थिएनन् ।
महाकाली सन्धिका विषयमा एमालेमा मतभेद चुलिएपछि वामदेवले सीपी मैनालीसहितका नेताहरूसहित २०५४ सालमा एमाले विभाजन गर्दै माले गठन गरेका थिए । २०५६ सालको आमनिर्वाचनमा मालेले एक सिट पनि जित्न सकेन । त्यसपछि उनी आफूनिकटका नेताहरूसहित २०५८ सालमा एमालेका फर्किएका थिए । एमालेको नवौं महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउन गौतमले निर्णायक भूमिका खेलेका थिए ।
एमाले र माओवादी एकता गरेर नेकपा बनाउन उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेकपामा उनी उपाध्यक्षका रूपमा प्रभावशाली भूमिकामा थिए । पार्टीभित्र विवाद बढ्दा प्रचण्ड र नेपालको साथमा थिए । एमाले विभाजनपछि भने कतै सक्रिय भएनन् । नेकपा एकता अभियान घोषणा गरे पनि त्यसलाई अघि बढाउन सकेनन् ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट माग्न अध्यक्ष केपी ओली उनको निवास भैंसेपाटी पुगे । नत्र उनलाई पूर्वसहकर्मी नेताहरूले चासो दिनै छाडेका छन् । ओलीले एमालेमै फर्किन वामदेवलाई आग्रह गरेका छन् । तर उनले एस नो केही भनेनन् । उमेरले ७४ वर्ष कटेका वामदेव अब रिटायर्ड लाइफ बिताउने मनस्थितिमा पुगेको उनी निकट नेताहरु बताउँछन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।