काठमाडौं - फागुन १८ गते एमाले अध्यक्ष केपी ओली एक्कासि भैंसेपाटीस्थित वामदेव गौतम निवास पुगे । कुनै खबर नगरी एकाएक ओली आफ्नो घरमा आएपछि वामदेव आश्चर्यमा परे ।
राष्ट्रपतिको निर्वाचनको समय थियो । वामदेवले ओली सुवासचन्द्र नेम्वाङका लागि भोट माग्न आएको भन्ठाने । तर लामो समय बसेका ओलीले वामदेवसँग नेम्वाङका लागि भोट नै मागेनन् । आफूसँग नेम्वाङका लागि भोट नै नमानी फर्कन लागेको देखेपछि वामदेवले ओलीलाई भने– ‘तपाईले त सुवासका लागि भोट पनि माग्नु भएन ।’
जवाफमा ओलीले भने, ‘सुवासलाई तपाईं राम्रै मान्नुहुन्छ । भोट दिइहाल्नुहुन्छ, मैले किन माग्नु ।’ यति भनेर ओली सिधै बालकोट लागे । वामदेव हेरेको हेर्यै भए । खासमा ओली राष्ट्रपतिका उम्मेदवार नेम्वाङका लागि भोट माग्न वामदेवको निवासमा गएका होइन रहेछन् ।
विगतमा पनि ओली भैंसेपाटी पुग्ने गर्थे । तर यसपटक ओलीले वामदेवलाई एमालेमा फर्किन आग्रह गर्न गएका रहेछन् । ओलीले वामदेवसँग आफैंले हुर्काएको बढाएको पार्टीमा फर्किन आग्रह गरेका थिए ।
तर वामदेवले एमाले विधानमा ७० वर्षे प्रावधान हटाउन ओलीलाई सुझाव दिएका थिए । वामदेवले जीवनभर पार्टीमा लागेर अन्तिममा कुनै पार्टीमा नभई मर्नुपर्ने अवस्था आएको भन्दै ओलीसँग गुनासो गरेका थिए ।
कतिसम्म भने वामदेवले अध्यक्ष र महासचिवका हकमा ७० वर्षे प्रावधान राख्न, अरुका लागि नराख्न आग्रह गरे पनि ओलीले कुनै जवाफ नदिई हिँडेको उनले परिवारका सदस्यलाई बताएका छन् ।
ओलीले भोट नमागे पनि वामदेवले नेम्वाङलाई मत हालेको स्पष्ट छ । किनभने एमालेको संघीय संसदमा ९५ मत रहेकामा नेम्वाङलाई ९८ मत आएको थियो । एमालेले वामदेवले पनि मत हालेको निष्कर्ष निकालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।