काठमाडौं - अघिल्लो स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा एमालेले दोलखामा अत्यधिक बहुमत हासिल गरेको थियो ।
स्थानीय तहमा एमालेको बहुमत थियो । प्रदेश र संघीय सांसद एमालेकै थिए । एमालेका पार्वत गुरुङले ३० हजार मतान्तरले कांग्रेसलाई हराएका थिए ।
तर, यसपटक धेरै भोट पाएर मात्तिएको एमालेलाई दोलखालीले साइजमा ल्याएको छ । एमालेले दोलखामा एकपछि अर्को स्थानीय तह हार्ने क्रम जारी छ ।
अधिकांश स्थानीय तहमा कांग्रेसले किल्ला जमाएको छ । दोलखाको भिमेश्वर नगरपालिकाको प्रमुख ३० वर्षपछि पहिलोपटक कांग्रेसले जितेको छ ।
सदरमुकाम चरिकोटसहित समेटिएको भीमेश्वरमा बहुदल आएर स्थानीय चुनाव सुरु भएयता कांग्रेसले पहिलोपटक जितेको हो ।
भीमेश्वरमा कांग्रेसबाट ईश्वरनाथ मानन्धर पहिलो नगर प्रमुख बन्न सफल भएका छन् । मानन्धर आठ हजार ७२३ मतसहित निर्वाचित भएका हुन् ।
उनले एमालेका उमेदवार हरिवंश चौलागाईंलाई एक हजार ४२२ मतान्तरमा पराजित गरेका हुन् । चौलागाईले सात हजार ३१ मत पाएका छन् ।
जितको सुरुआत कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको वडाबाट भएको थियो । वडा नम्बर–१ कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको गृहवडा हो ।
भिमेश्वर नगरपालिकाको पनि मुकाम रहेको चरिकोट कम्युनिष्टहरुको पहिलोदेखि नै दबदबा भएको क्षेत्र हो । त्यस्तो क्षेत्रमा यसपटक भने कांग्रेसको नेतृत्व स्थापित भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।