काठमाडौं - नेपाली कांग्रेसको प्रवक्ताबाट विश्वप्रकाश शर्माले राजीनामा दिएका छन् । पार्टीको १४औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि शर्माले मंगलबार प्रवक्ताको जिम्मेवारीमा नबस्ने घोषणा गरेका हुन् ।
कांग्रेसको १३औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएका थिए । कांग्रेसको निर्वाचित केन्द्रीय सदस्यहरूबाटै प्रवक्ता बनाउने गरिएको छ ।
प्रवक्तालाई पार्टीको पदाधिकारीसरह मान्यता दिइएकाले पनि अब को बन्ला कांग्रेस प्रवक्ता भन्ने चासो सर्वत्र देखिएको छ । प्रवक्ताका रूपमा शर्माले निकै राम्रो भूमिका निभाएका थिए ।
केपी ओली नेतृत्वको एमाले सरकारका पालामा पनि कांग्रेसलाई गुमनाम हुनबाट र ओली सरकारले गरेका हरेक गलत निर्णयको शर्माले विरोध गर्दै आएका थिए । जसकारण पनि शर्मा आमकांग्रेसीबीच लोकप्रिय बनेका थिए ।
अहिले शर्मा महामन्त्रीमा निर्वाचित हुनुमा पनि त्यही क्रियाशीलतालाई प्रमुख कारण मानिएको छ । यसपटक कांग्रेस प्रवक्तामा सभापति देउवा निकट दुई नेताको चर्चा धेरै चलेको छ । जसमा केन्द्रीय सदस्य एनपी साउद र रमेश लेखकमध्ये कसलाई देउवाले प्रवक्ता बनाउलान् भन्ने चासो देखिएको हो ।
साउद र लेखक दुवै देउवाका विश्वासिला नेता हुन् । दुवै कञ्चनपुरका भएकाले पनि यिनैमध्येबाट एकलाई बनाउने चर्चा बालुवाटारमा चलेको छ ।
कांग्रेसको १४औं महाधिवेशनमा साउदले खुलातर्फको ३५ केन्द्रीय सदस्यको निर्वाचनमा दोस्रो लोकप्रिय मतसहित जितेका थिए । उनी महामन्त्रीका दाबेदार पनि थिए ।
त्यसैले यसपटक उनी प्रवक्ताका रूपमा आउन सक्ने बताइएको छ । नेविसंघका पूर्वअध्यक्ष भएको र मन्त्रीको भूमिका निभाइसकेकाले साउदलाई प्रवक्ता बनाउनुपर्ने आवाज सुदूरपश्चिमका नेता कार्यकर्ताले उठाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।