काठमाडौं – मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका–३ लेतमा अवस्थित ज्ञानोदय माध्यमिक विद्यालयका २ जना शिक्षक र २ जना विद्यार्थी गरी ४ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।
विद्यालयले अरु शिक्षक र विद्यार्थीमा पनि कोरोना फैलिनसक्ने भन्दै विद्यालय बन्द गर्नुपरेको जानकारी दिएको छ ।
ज्ञानोदय मावि लेतेका प्रधानाध्याक अनन्तराज आचार्यले आफ्नो विद्यालयमा शिक्षक र विद्यार्थी गरी ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
आचार्यका अनुसार विद्यालयमा कोरोना संक्रमण देखिएसँगै कात्तिक २९ गतेदेखि मंसिर १० गतेसम्म १२ दिन विद्यालय बन्द गरिएको छ ।
‘हाम्रो विद्यालयमा पढाउने २ जना शिक्षकलाई रुघाखोकी सहितको कोरोना लक्षण देखियो । हामीले गाउँपालिकाको स्वास्थ्यसँग समन्वय गरी एन्टिजेन परीक्षण गर्यौं,’ उनले भने, ‘चेकजाँच गर्दा उहाँहरूमा कोरोना देखियो । त्यसपछि लक्षण भएका २४ जनालाई परीक्षण गरायौं ।’
विद्यालयका २४ जनाको परीक्षण गर्दा ४ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको आचार्यले बताए । विद्यालयमा कोरोना पुष्टि भएका ४ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
ज्ञानोदय माविले मंसिर १० गतेपछि विद्यार्थी र शिक्षकको स्वास्थ्य अवस्था हेरेर विद्यालय पुनः सञ्चालन गर्ने जानकारी दिएको छ ।
थासाङ–३ लेतेकै अर्को एक स्थानीय महिलामा पनि कोरोना पोजेटिभ देखिएको थासाङ गाउँपालिकाका स्वास्थ्य संयोजक सिताराम कार्कीले बताए । संक्रमण पुष्टि भएकी महिलाको अक्सिजन लेवल कम भएकाले काठमाडौं लगिएको र अवस्था सामान्य रहेको जनाइएको छ ।
जिल्ला अस्पताल जोमसोममा समेत कोरोनाका बिरामी देखिन थालेको छ । अघिल्लो हप्ता अस्पतालमा २ जना कोरोनाका बिरामीलाई आइसोलेसन कक्षमा भर्ना भएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।