काठमाडौं - नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल अहिले चर्चामा छन् । एमाले प्रवेशको तयारीमा रहेको हल्ला फैलिएपछि उनी चर्चामा आएका हुन् ।
प्रहरी संगठनबाट रिटायर्ड भएसँगै एक वर्षअघि उनी सांसद अपहरण काण्डमा मुछिएका थिए । तत्कालीन संघीय समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवलाई जनकपुरबाट जबर्जस्ती उठाएर काठमाडौं ल्याई मेरियट होटेलमा राखेको काण्डमा एमाले सांसद महेश बस्नेत, किसान श्रेष्ठसँगै खनाल पनि सहभागी भएका थिए ।
तर, उनले आफूले अपहरण नगरेको दाबी गर्दै आएका छन् । खनाललाई अहिले सांसद बनेर मन्त्री हुने भूत सवार भएको छ । तनहुँ स्थायी घर भएका खनालको परिवार कांग्रेस हो । उनका दाजु सुवीर खनाल अहिले काठमाडौं कांग्रेसका नेता छन् ।
परिवार नै कांग्रेस भए पनि सर्वेन्द्र खनाल एकाएक किन एमाले प्रवेशको तयारीमा छन् त ? भन्ने चासो अहिले सर्वत्र देखिएको छ । जसरी प्रहरीबाट राजीनामा दिएर चुनावको मुखमा पूर्वडीआईजी नवराज सिलवाल एमाले प्रवेश गरी ललितपुरबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए त्यसरी नै खनाल पनि तनहुँबाट एमालेको उम्मेदवार बन्न चाहन्छन् ।
एमालेले उनलाई चुनाव घोषणा भएपछि पार्टी प्रवेश गराउने रणनीति बनाएको थियो । तर, बीचमै त्यो खबर चुहियो । अब एमालेको पालिका र जिल्ला अधिवेशनलगत्तै सर्वेन्द्रलाई भित्र्याउने केपी ओलीको तयारी छ ।
सर्वेन्द्र प्रहरी संगठनमा हुँदा सूचना संकलनमा माहिर मानिन्थे । सबै पार्टीका नेता र पत्रकारसँग सम्बन्ध सुमधुर राख्न सिपालु सर्वेन्द्र विवादमा नआएका भने होइनन् । उनले सनककै भरमा सागर थापा जस्ता चर्चित फुटबल खेलाडीको भविष्य नै सिध्यादिए ।
अनावश्यक रूपमा खेल मिलेमतोको आरोप लगाएर जेल हाले । सनककै भरमा कुमार घैैंटेको इन्काउन्टर गरे । सर्लाहीका विप्लव नेकपाका नेता कुमार पौडेलको पनि फेक इन्काउन्टर गरे । जसमा उनीमाथि मुद्दा दर्ता भएको छ ।
अरुको भविष्य सिध्याउने सर्वेन्द्र चौतर्फी रूपमा असुरक्षित भएपछि सुरक्षित हुन एमाले प्रवेश गर्न लागेको बताइन्छ । जसरी तत्कालीन सरकारको कारबाहीबाट बच्न नवराज सिलवाल डीआईजीबाट राजीनामा दिएर एमाले प्रवेश गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।