काठमाडौं – बालबालिकामा सामान्य लक्षणसहित कोरोना संक्रमण भएको अवस्थामा घरमै एकान्तबास (होम आइसोलेसन) बस्न उचित हुने सुझाव चिकित्सकको रहेको छ ।
स्वास्थ्य अवस्था जटिल भए मात्र अस्पताल जानु उचित हुने सुझाव चिकित्सकको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ प्रा.डा. रवि शाक्यले भने, ‘बालबालिकालाई होम आइसोलेसन बस्दा नै सुरक्षित अनुभव हुन्छ । सामान्य लक्षण छ भने अभिभावकको रेखदेख जस्तो अरु कसैको हुँदैन तर स्वास्थ्यमा केही समस्या तथा आफूलाई असजिलो महसूस भयो भने तुरुन्त अस्पताल जानुपर्छ । बालबालिकामा कोरोना संक्रमण भएको खण्डमा घाँटी खराब हुने, नाक बग्ने, खोकी लाग्ने लगायतका समस्या देखिन सक्छ ।’
डा. शाक्यका अनुसार केही बालबालिकाको पेट समेत खराब हुन सक्छ । यस्ता बालबालिकालाई आइसोलेट गरेर लक्षणका आधारमा उपचार गर्न सकिन्छ । अस्पतालमा धेरै बिरामीको अवस्था देखेर मानसिक तनाव हुने उनको सुझाव छ ।
बालरोग विशेषज्ञ जुन डंगोलले लक्षण विनाका बालबालिकालाई अस्पताल ल्याउनु नपर्ने बताउँदै घरमा नै एकान्तबास बसे राम्रो हुने बताउँछन् । कोही बालबालिका जन्मजात नै मुटुरोगी छन्, लामो समयदेखि फोक्सोको रोगबाट ग्रसित छन्, कुनै अंगले राम्रोसँग काम गरेको छैन वा मोटोपनाजस्ता रोगबाट ग्रसित छन् भने चिकित्सकको सल्लाहबमोजिम हेरविचार गर्न सकिने उनले बताएका छन् ।
‘बच्चामा कोरोना संक्रमण दर बढ्नुका पछाडि भाइरसले रुप परिवर्तन गर्नु नै हो,’ डा. डंगोलले भने, ‘संक्रमणको पहिलो लहरमा बालबालिकामा सामान्य फ्लुका रुघाखोकी लाग्ने, ज्वरो आउने, घाँटी दुख्ने लक्षण र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।’
अहिले फ्लु र श्वासप्रश्वाससँगै पाचन प्रणालीमा पनि समस्या देखिएको जानकारी दिँदै उनले अरुचि, पेट दुख्ने, पखाला चल्ने, बान्ता आउने, ज्यान दुख्ने, शरीरमा डाबरहरु देखिने भएको समेत बताए ।
‘संक्रमित बालबालिकाको अवस्था सामान्य, जटिल वा गम्भीर भनेर छुट्याउनुपर्छ,’ उनले थपे, ‘सामान्य अवस्थामा संक्रमित बालबालिकालाई फ्लु र पाचन प्रणालीको समस्या देखिन सक्छ तर ज्वरो आउँदैमा, रुघाखोकी लाग्दैमा वा पेट दुख्दैमा, पखाला चल्दैमा आत्तिनु पर्दैन । सिटामोल र झोलिलो पदार्थ खुवाएर बच्चालाई घरमै सुरक्षित राख्न सकिन्छ ।’
श्वासप्रश्वासमा समस्या देखिन थाल्ने, अक्सिजनको मात्रा ९४ प्रतिशतभन्दा कम हुने वा बच्चा सुस्त बन्दै जाने, आँखा भित्र गड्ने, पानी नपिउने, पिसाब नफेर्नेजस्ता समस्या भएमा अस्पताल लैजानुपर्ने उनको सुझाव छ । बालबालिकाको शरीरमा अक्सिजनको मात्रा ९२ प्रतिशतभन्दा कम भएमा पूरा वाक्य बोल्न समेत नसक्ने जिब्रो, ओठ, कानको लोती, औंलाका टुप्पाहरु नीलो हुने समस्या देखिने पनि उनले बताए ।
बालरोग विशेषज्ञ निपुन श्रेष्ठले भने, ‘यदि संक्रमण भएको छ भने शारीरिक रूपमा गलेका बालबालिकालाई मानसिक तनाव हुने वातावरण सिर्जना गर्नु हुँदैन ।’ आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।