बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कोरोना विरुद्धको खोप लगाइसक्दा समेत कोरोना संक्रमण !

कोरोना विरुद्धको खोप लगाइसक्दा समेत कोरोना संक्रमण !

  • मिडिया डबली
  • बिहिवार, श्रावण २८ २०७८

  • 5.7K
    SHARES

  • कोरोना विरुद्धको खोप लगाइसक्दा समेत कोरोना संक्रमण !

    काठमाडौं – कोभिड–१९ संक्रमण विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुनसक्ने भएकाले सुरक्षाका सबै उपाय अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।

    खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित रहन सकिने र अरुलाई समेत सुरक्षित राख्न सकिने उनीहरुको सुझाव छ ।

    नेपालमा खोप लगाएका व्यक्तिहरुले ढुक्क भएर जनस्वास्थ्य मापदण्ड उल्लंघन गरेकै कारण संक्रमण बढेको र कतिपयमा जटिल समस्या समेत देखिएको कोभिड–१९ उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन् ।  

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार खोप लगाएपछि संक्रमित भएर दैनिक २–३ जना यो अस्पतालमा आउने गरेका छन् । दुबै डोज खोप लिएर पनि जटिल समस्या देखिएका २–४ जना बिरामीले खबर गरेको सरुवा रोग अस्पतालकै डा. शेरबहादुर पुनले बताएका छन् ।

    चिकित्सकका अनुसार खोप लगाएर एन्टिबडी बनिनसकेकाहरु पुनः संक्रमित भएर उपचारमा आएका छन् ।  

    पहिलो डोज खोप लगाउनेबित्तिकै संक्रमित भएर आउने धेरै रहेको अस्पतालले जनाएका छन् । चिकित्सकका अनुसार दुबै डोज लगाए पनि खोपले कतिपयको शरीरमा एन्टिबडी नबनेको हुन सक्छ । त्यस्तो अवस्थामा कोरोना संक्रमण भई जटिल समस्या आउन सक्छ । तर यस्तो संख्या कम हुने गरेको चिकित्सकले औंल्याएका छन् । दुबै डोज लगाएको धेरै समय बितेपछि शरीरमा एन्टिबडी कम हुँदै गएमा पनि खोप लगाएका व्यक्तिमा कोरोना संक्रमणले जटिल समस्या ल्याउन सक्छ ।

    खोप लिएर शरीरमा कोभिड–१९ विरुद्ध एन्टिबडी बनेको अवस्थामा पनि संक्रमित हुन्छन् । एन्टिबडी बनेपछि संक्रमित हुनेहरूमा जटिल समस्या भने हुँदैन । तर यस्ता व्यक्तिले परिवारका अन्य सदस्य र समुदायमा संक्रमण फैलाउन सक्ने हुनाले खोप लिएका व्यक्तिहरुले पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेर आफू, परिवार र समुदायलाई संक्रमणबाट जोगाउन सक्ने चिकित्सकको सुझाव रहेको छ ।  

    नेपालमा अहिले पनि सबै व्यक्तिले खोप नलिइसकेको अवस्था रहेकाले खोप लिएका व्यक्तिहरुले अनिवार्य मास्क प्रयोग, भौतिक दूरी कायम गर्ने र हातको सफाइ गर्नेजस्ता जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने डा. पुन बताउँछन् । परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले कुनै पनि खोपले सय प्रतिशत शरीरमा काम गर्ने सुनिश्चितता नहुने भएकोले कोभिड–१९ विरुद्धको खोप लिए पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेर सुरक्षित रहन सुझाव दिए ।

    ‘अहिले हामीले प्रयोग गरेको खोपले सबैको शरीरमा काम नगर्ने हुनसक्छ । भाइरसको रुप परिवर्तन भएर आउँदा खोपले काम नगर्ने पनि हुन सक्छ । यो अवस्थामा खोप लिएकाहरुले खोपले काम गरेको छ कि छैन भनेर एन्टिबडी परीक्षण गर्ने एउटा उपाय हुनसक्छ । तर नयाँ भाइरसको हकमा खोपले काम गर्ने सुनिश्चित नभएकाले सुरक्षित रुपमा दिनचर्या चलाउनु नै उत्तम उपाय हो,’ डा. गौतमले भने ।

    गत २४ घण्टामा पीसीआर परीक्षण भएकामध्ये २३ प्रतिशतमा संक्रमण देखिएको छ । परीक्षण भएका १० हजार ९०७ नमूनामध्ये २ हजार ६१६ जनामा कोरोना पुष्टि भएको छ । एन्टिजेन विधि समेत गरेर १६ हजार ६६५ वटा नमूनाको परीक्षण गरिएकोमा ३ हजार ४८१ जना अर्थात् २० प्रतिशतमा कोरोना पुष्टि भएको छ । यीसहित नेपालमा संक्रमितको संख्या ७ लाख ९५ हजार ३९१ पुगेको छ ।

    निषेधाज्ञा खुकुलो भएपछि दैनिक बढ्दो संक्रमणका कारण नेपालमा हाल ३८ हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३४ हजार ८१३ जना होम आइसोलेसन र ३ हजार २२० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

    गत २४ घण्टामा थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक रहेको छ । यीसहित नेपालमा १० हजार १८० जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ९६४ जना नयाँ संक्रमित भेटिएका छन् ।

    बितेको १ हप्तामा नेपालमा कोरोनाका कारण २२३ जनाको मृत्यु भइसकेको छ भने २५ हजार ४६९ जना संक्रमित थपिएका छन् । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend