काठमाडौं – चितवन जिल्लामा भइरहेका प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ ।
भोलि बुधवार साँझसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।
सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र भएपछि चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले २४ घण्टाका लागि निश्चित ठाउँ तोकेर कर्फ्यू आदेश जारी गरेका छन् ।
पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्गको दायाँ–बायाँ ५०० मिटरभित्र पर्ने क्षेत्रमा कर्फ्यू लगाइएको चितवनका सीडीओ प्रेमलाल लामिछानेले बताएका छन् ।
कर्फ्यू मंगलवार साँझ साढे ७ बजेदेखि बुधवार साँझ साढे ७ बजेसम्मका लागि जारी गरिएको छ । आदेशको अवज्ञा गरेमा त्यस्ता व्यक्तिलाई तत्काल गिरफ्तार गरी १ महिनासम्म कैद वा जरिवाना वा दुबै सजाय हुने प्रशासनले जनाएको छ ।
चितवनको राप्ती नगरपालिका–३ बस्ने २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिले पूर्व पश्चिम राजमार्ग अवरुद्ध, बीच सडकमा भीड जम्मा गरी हुलहुज्जत, ढुंगामुढा, सरकारी तथा निजी सम्पत्ति र संरचना तोडफोड, आगजनी तथा हुलदंगा गरी सार्वजनिक शान्ति भंग गर्न सक्ने अवस्था देखिएकाले कर्फ्यू जारी गरिएको प्रशासनले जनाएको छ ।
भण्डारीको गृहक्षेत्र राप्ती नगरपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गमा मंगलवार स्थानीयले टायर बालेर प्रदर्शन गरेका थिए । स्थानीय र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो । झडपमा ७ जना प्रहरी घाइते भएका छन् ।
आईतवार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला परेको थियो । उनी असार ११ गतेदेखि हराइरहेकी हुन् । बिहान ६ बजे घरबाट हिँडेकी भण्डारी सोही दिनदेखि बेपत्ता भएकी थिइन् । उनले दिउँसो १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको जानकारी दिएकी थिइन् ।
जंगलमा च्याउ टिप्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । शव गलेको अवस्थामा फेला परेकोे थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।