काठमाडौं – केही हप्तायता घट्न थालेको कोरोना संक्रमण दर उकालो लाग्न थालेको छ ।
केही दिनयता संक्रमित संख्या क्रमशः बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकंले देखाएको छ ।
पछिल्लो दिन नेपालमा संक्रमणदर २६ दशमलव ३ प्रतिशत पुगेको छ । जारी निषेधाज्ञा खुकुलो हुँदा हेलचक्र्याइँ अत्याधिक बढेको समेत पाइएको छ ।
बजारमा आवतजावत बाक्लिँदै गएको छ । जसकारण भौतिक दूरी कायम हुन नसकेको देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले संक्रमण जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड पूर्णतः कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । जनस्वास्थ्य मापदण्ड पालना र आत्मअनुशासन हुनसके संक्रमण जोखिमबाट बच्न सकिने जनस्वास्थ्य विज्ञले बताएका छन् ।
मन्त्रालयको तथ्यांकअनुसार गत आइतवार १ हजार ९२० जनामा संक्रमण देखिएको थियो । सोमवार २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएकोमा मंगलवार २ हजार ६३६ जनामा संक्रमण देखियो । हिजो बुधवार देशभर थप २ हजार ८९२ जनामा पुष्टि भएको छ । क्रमिक रुपमा दैनिक संक्रमित संख्या बढ्दो देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ५६८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गरिएको छ । ७ हजार १८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८८९ र ४ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ३ जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा सक्रिय संक्रमित संख्या ३३ हजार ५६१ पुगेको छ । देशभर बुधवार ३ हजार ५९७ संक्रमित डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ४१ संक्रमितको मृत्यु भएको छ । हाल देशभर ६४४ कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
जसअन्तर्गत ६२७ जना आईसीयू र १७५ जना संक्रमित भेन्टिलेटरमा छन् । १ नम्बर प्रदेशमा १२६ आईसीयू र ३७ भेन्टिलेटर, २ नम्बर प्रदेशमा १० आईसीयू र १ जना भेन्टिलेटरमा छन् ।
बाग्मती प्रदेशमा ३६२ आईसीयू र ११५ जना भेन्टिलेटरमा उपचाररत छन् । गण्डकी प्रदेशमा ६२ आईसीयू र १२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५२ आईसीयू र ७ जना भेन्टिलेटर, कर्णालीमा ५२ जना आईसीयू र ७ जना भेन्टिलेटर, सुदूरपश्चिम प्रदेशमा ४ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
केही दिनयता गम्भीर संक्रमित संख्या भने घट्दोक्रममा छ । ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला १७ छन् । मन्त्रालयका अनुसार बुधवार १ नम्बर प्रदेशको मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक र नुवाकोटमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
गण्डकी प्रदेशका कास्की र नवलपरासी (पूर्व), लुम्बिनी प्रदेशको बर्दिया र कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली रहेका छन् । आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।